MENU

कृषि

dishhomeapp

गहुँंको गुदी छाम्दै वैज्ञानिक

विवश वस्ती बुधवार, चैत्र २, २०७३

अनुसन्धान कर्मका लागि न चाहिँदो स्रोत छ, न साधन, न त सुविधा नै छ । तर, ‘एकलव्य निष्ठा’ बोकेर नेपालका कृषि वैज्ञानिकहरू अनुसन्धानमा दत्तचित्त छन्, वर्र्षौंदेखि । पछिल्लो पुस्ताका वैज्ञानिकहरूमा त विदेश–मोह व्याप्त छ नै । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का मुख्य वैज्ञानिक डा. दीपक भण्डारी भने केही पृथक लाग्छन् । दुई दशकयता गहुँ बालीमा लाग्ने विभिन्न रोगको अनुसन्धानमा व्यस्त डा. भण्डारीले कर्मक्षेत्रमा यति डुबुल्की मारेका छन्, किटाणुबाट गहुँलाई जोगाउने प्रविधि विकास गर्न सदैव तल्लीन छन् ।

गहुँ बालीलाई धेरै रोगले सताउँछन्, कालो सिन्दुरे, पहेँलो सिन्दुरे, डढुवा । डा. भण्डारीले ०६० सालमा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ‘गहुँ बालीमा लाग्ने डढुवा रोगको जैविक नियन्त्रण प्रविधि’ शीर्षकमा विद्यावारिधि सिध्याए । भन्छन्, ‘डढुवा दक्षिण एसियामा सिन्दुरेपछिको दोस्रो प्रमुख रोग हो । गहुँको जरा, पात, बीउ, बाला, डाँठ सबैमा यो रोग लाग्छ । यो एक प्रकारको ढुसीले लाग्ने रोग हो ।’

डढुवालाई नियन्त्रण गर्ने तीन वटा विधि छन्, विषादीको प्रयोग, रोग नलाग्ने जातको उन्मोचन र जैविक नियन्त्रण । डा. भण्डारीले भने जैविक प्रविधि अपनाए । किन त ? उनी भन्छन्, ‘विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउनुका साथै सिंगो प्रकृतिले नै नोक्सान बेहोर्नु परिरहेको छ । र, अचेल संसार नै जैविक प्रविधितिर उन्मुख भइरहेको छ । मैले पनि यही प्रविधि पछ्याउन उपयुक्त ठानेँ ।’

नार्कका मुख्य वैज्ञानिक डा. दीपक भण्डारी दुई दशकयता गहुँमा लाग्‍ने रोगको अनुसन्धानमा व्यस्त छन्।

डढुवा गहुँमा लाग्ने यस्तो रोग हो, जसले विश्वका करिब २० लाख हेक्टरमा हुने गहुँ बालीलाई बर्सेनि नोक्सानी पु¥याइरहेको छ । नेपालको तराई क्षेत्र, बंगलादेश र भारतको गंगा नदीको आसपासमा यो रोगको बढ्दो प्रकोप देखिएको छ । ‘डढुवा रोगलाई जैविक प्रविधिबाट नियन्त्रण गर्नका लागि मैले गहुँको बोटमा भेटिने सयौँ जीवाणुको अध्ययन गरेँ । र, तीमध्ये चार वटाले रोग लगाउने ढुसीलाई नियन्त्रण गर्ने पत्ता लगाएँ,’ उनी थप्छन्, ‘मैले त यो रोगको नियन्त्रण गर्ने जीवाणुहरूको मुलतत्व मात्र पत्ता लगाएको हुँ ।

यसको व्यापारिक प्रयोग भने अनुसन्धानपछि मात्रै हुने हो ।’ २०२० को दशकमै भूपि शेरचनले सीमान्त शहर भैरहवालाई ‘बाँझी आइमाइको आङजस्तो सपाट’ ठाउँका रूपमा अथ्र्याएका थिए । कास्कीको अर्घौंबाट भारतको सिलोङ पुगे पनि त्यहाँ थामिन सकेनन्, भण्डारीका बुवा । र, त्यसपछि बुवाले पुनः नेपाली भूभागमै बस्ने इच्छा देखाए र २० को दशकमै फर्किए, भैरहवा । बुवाको रोजाइथलो भैरहवामा ५२ वर्षअघि जन्मिएका डा. भण्डारीका मनमस्तिष्कमा अझै पनि त्यहा“का तस्बिरहरू नाचिरहन्छन् ।

४० वर्षअघिको भैरहवा बजारलाई सम्झिन्छन्, ‘अलिकति सानो एरिया, कच्ची घरहरू, जनसंख्या थोरै ।’ तत्कालीन समयमा भैरहवाका प्रख्यात साहु सुधानारायण मानन्धरले एउटा मोटरसाइकल किने र उनले नै पहिलोपल्ट भैरहवामा सटर भएको पसल पनि थापे । भैरहवामा मानन्धरले मोटरसाइकल किनेको प्रसंगले सिंगो बजारभरि चर्चा पायो । त्यसभन्दा पनि चकित तुल्याउने कुरा थियो, सटर ।

उनी सम्झिन्छन्, ‘सटर भएको पसल हेर्न मानिसको ओइरो नै लाग्थ्यो । अझ, सटर खोल्दा र बन्द गर्दा सिंगो टोल नै थर्किन्थ्यो । बेलुकीपख बन्द गर्दा हाम्रा टोलका मानिसले यति बजेछ भनेर अड्कल लगाउँथे ।’ ६ दिदीबहिनीका एक्ला भाइ भण्डारीले ०३६ सालमा भैरहवा माविबाट एसएलसी उत्तीर्ण गरे । त्यसलगत्तै उनले एउटा मौका पाइहाले । किनकि, आफ्नै घरआँगनमा भर्खरै खुलेको थियो, कृषि क्याम्पस । ०३४ सालमा पक्लिहवामा कृषि क्याम्पस खुलेपछि अधिकांशले सुझाए, ‘कृषि नयाँ विषय हो ।

यो विषय पढ्यो भने विदेश जान पाइन्छ । स्कोप पनि छ ।’ उनलाई घर नजिकै कृषि क्याम्पस खुलेपछि बाहिर गएर किन पढ्ने भन्ने भयो र त्यहीँबाट आईएस्सी (एजी) पूरा गरे ।डा. भण्डारी पढाइमा तीक्ष्ण नै थिए । त्यही तीक्ष्णताले गर्दा उनको उच्च अध्ययनका निम्ति घर–परिवारले टाउको दुखाइरहनु परेन । भन्छन्, ‘एसएलसीसम्मको पढाइ खर्च घरपरिवारले बेहोरे पनि त्यसभन्दा माथिका सबै अध्ययन मैले छात्रवृत्तिबाटै पूरा गरेँ ।’ आईएस्सी (एजी) मा अध्ययन गर्दा उनले दुई सय रुपैयाँ छात्रवृत्ति पाउँथे ।

कालो सिन्दुरे रोगको इतिहास गजबकै छ। सन् १९७० को दशकमा यो रोग अमेरिका, युरोपलगायत अरू थुप्रै देशमा भयंकर समस्याका रूपमा देखापर्‍यो। यो गहुँ बालीमा लाग्‍ने यति खराब रोग हो, जसले ९० प्रतिशत बाली सखाप बनाउँछ।

भन्छन्, ‘०३६ सालतिर दुई सय रुपैयाँ हाम्रा निम्ति छेलोखेलो नै हुन्थ्यो ।’ छात्रवृत्ति पाएरै रामपुर कृषि क्याम्पसबाट बीएस्सी (एजी), अमेरिकाको कर्नेल युनिभर्सिटीबाट प्राप्त छात्रवृत्तिमा एमएस्सी (कृषि) र थाइल्यान्डबाट विद्यावारिधि पूरा गरेका हुन् उनले ।रामपुर कृषि क्याम्पसमा अध्ययन गर्दा ‘टप–फाइभ’मा परिरहने उनले बीएस्सी एजी सिध्याएपछि भने कृषि मन्त्रालयअन्तर्गतको बाली संरक्षण अधिकृतमा नाम निकाले । ०४९ सालमा नार्कको स्थापना भएपछि भने उनी त्यतै सरे । भन्छन्, ‘मलाई सानैदेखि अध्ययन, अनुसन्धानमा रुचि थियो ।

कुनै पनि चिजको गुदीमै घुस्न मन लाग्थ्यो । कुनै नयाँ रोग निस्किँदा यो रोग किन लाग्यो, यसको निदान कसरी हुन्छ भनेर म घोत्लिन थाल्थेँ ।’ उनले सफलताका केही शिखर पनि चुमेका छन्, जीवनमा । त्यसमध्ये एक हो, अमेरिकाको प्रसिद्ध बर्लग ग्लोबल रस्ट इनिसिएटिभ नामक संस्थाले प्रदान गरेको अन्तर्राष्ट्रिय जिन स्टेवार्डसिप अवार्ड । सन् २०१२ मा उनीसहित पाँच वैज्ञानिकले पाएका थिए यो अवार्ड । डा. भण्डारीसहित अरू वैज्ञानिकहरू मदनराज भट्ट, सरला शर्मा, धु्रव थापा र नुतन गौतमले जनही २/२ लाख रुपैयाँ पाएका थिए ।

डा. भण्डारी भन्छन्, ‘यो नेपालको कृषि क्षेत्रमा प्राप्त अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय पुरस्कार हो । नेपाली भूमिमै रहेर अनुसन्धान गरेका वैज्ञानिकहरूले यसभन्दा ठूलो पुरस्कार पाएका छैनन् अहिलेसम्म ।’ डा. भण्डारीसहितका वैज्ञानिकले सिंगो संसारलाई नै रिंग्याइरहेको ‘कालो सिन्दुरे’ रोगको नियन्त्रण गर्ने उपाय र नेपालमा गहुँका अन्य सिन्दुरे रोग नियन्त्रणमा सफलता प्राप्त गरेवापत यो पुरस्कार पाएका थिए । हुन पनि, कालो सिन्दुरे रोगको इतिहास गजबकै छ । सन् १९७० को दशकमा यो रोग अमेरिका, युरोपलगायत अरू थुप्रै देशमा भयंकर समस्याका रूपमा देखापर्‍यो । डा. भण्डारी भन्छन्, ‘यो गहुँ बालीमा लाग्ने यति खराब रोग हो, जुन लागेपछि ९० प्रतिशत बाली सखाप हुन्छ ।’

तर, त्यतिबेला संसारभरिका वैज्ञानिकहरू जुटेर कालो सिन्दुरे रोग नलाग्ने जातको गहुँको विकास गरे र त्यही गहुँ संसारभरि फैलियो पनि । तर, सन् १९९९ मा युगान्डामा पुनः देखियो, कालो सिन्दुरे । युगान्डामा यो रोग देखिएपछि वैज्ञानिकहरूले निष्कर्ष निकाले, ‘रोग त उही नै हो । तर, त्यही किटाणुको नयाँ जात निस्किएको हो ।’ युगान्डाबाट पुनः उदाएको कालो सिन्दुरेले आफ्ना पञ्जाहरू यति छिट्टै विस्तार गर्‍यो कि फैलिँदै–फैलिँदै इरानसम्मै आइपुग्यो । भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रमा रहेका डा. भण्डारीसहितका वैज्ञानिकहरूले कालो सिन्दुरेको नियन्त्रण गर्ने गहुँको नयाँ जात विकास गर्न थाले, सन् २००० मा ।

उनलाई सानैदेखि अध्ययन, अनुसन्धानमा रुचि थियो। कुनै पनि चिजको गुदीमै घुस्न मन लाग्थ्यो। कुनै नयाँ रोग निस्किँदा यो रोग किन लाग्यो, यसको निदान कसरी हुन्छ भनेर घोत्लिन थाल्थे।

भन्छन्, ‘हामीले कालो सिन्दुरेसँग प्रतिरोध गर्ने नयाँ जातको गहुँ निकाल्न १० वर्षभन्दा बढी मिहिनेत गर्‍यौँ । रोग नलाग्ने, उत्पादन बढ्ने र खान मीठो हुने कुनै पनि नयाँ जातको बालीको विकास गर्न कम्तीमा १० वर्ष लाग्छ । र, हामीले अथक मिहिनेत गरेर कालो सिन्दुरे रोग नलाग्ने नयाँ जातको गहुँ निकाल्यौँ ।’डा. भण्डारीसहितको टोलीले निकालेको नयाँ जातको गहुँको नाम राखियो, ‘विजय’ । किन त यस्तो नाम ? उनी भन्छन्, ‘हामीले संसारलाई नै टाउको दुखाइको विषय बनेको कालो सिन्दुरे रोगमाथि विजय प्राप्त गर्न सक्यौँ र त्यही कारण विजय नाम राखेका हौँ ।’

अहिले तराई क्षेत्रका किसानहरूमा नयाँ जातको यो गहुँ प्रख्यात रहेको र दिन प्रतिदिन मागसमेत बढ्दै गएको डा. भण्डारीको कथन छ । सन् २०१२ मा उक्त अवार्डका लागि अमेरिकालगायत देशका वैज्ञानिकहरूले पनि प्रतिस्पर्धा गरेका थिए । तर, ‘नेपाली वैज्ञानिकहरूले सीमित स्रोत, साधन र सुविधाका बाबजुद पनि कालो सिन्दुरे रोग नियन्त्रण र गहुँका अन्य सिन्दुरे रोग नियन्त्रण गर्न गरेको सफल मिहिनेतका लागि’ भन्दै उक्त अवार्ड दिइएको थियो । गहुँ बालीमा लाग्ने रोगहरूका अनुसन्धानमा दुई दशक बिताइसकेका डा. भण्डारीले आफ्नो विषयसँग जोडिएका ५० भन्दा बढी अनुसन्धानमूलक कृतिसमेत प्रकाशित गरिसकेका छन् ।

नेपालमै रहेर कृषि क्षेत्रको अध्ययन र अनुसन्धानमा व्यस्त उनलाई पछिल्लो समय वैज्ञानिकहरूमा विदेश पलायन मौलाएको देख्दा नरमाइलो महशुस हुन्छ । उच्च शिक्षाका लागि विदेशमै गए पनि उनले विदेशमै अल्झिने विचार भने कहिल्यै गरेनन् । भन्छन्, ‘बाहिर गएर पढे पनि ममा देशमै फर्किएर काम गर्नुपर्छ भन्ने भावना प्रबल रह्यो ।’

फुर्सदका बेला देश र बाह्य मुलुकका व्यक्तिहरूका बायोग्राफी, समसामयिक विषयमाथि लेखिएका पुस्तकहरू पढ्न रुचाउने डा. भण्डारीलाई नारायणगोपालका गीतहरूले धेरै छुन्छन् र सुन्छन् पनि उत्तिकै । हरेक दिन बेलुकी सात बजे टेलिभिजनको समाचार नछुटाउने त उनको बानी नै भइसक्यो । तर, गहुँ बालीको अध्ययनमा सिंगो जीवन अर्पे पनि उनलाई रोटीभन्दा अरू नेपालीजस्तै दाल, भात खान नै मन लाग्छ । भन्छन्, ‘चामलको भात त नेपाल, बंगलादेश र दक्षिणपूर्वी एसियाका मानिसले मात्रै बढी खान्छन् ।

तर, गहुँको प्रयोग गर्नेहरू विश्वभरि नै छन् ।’ चुरोटमा रत्तिभर लत नरहेका उनी मदिरा भने पिउँछन्, कहिलेकाहीँ । कुनै भोज, अफिसको कार्यक्रम र साथीभाइसँग जम्न मन लाग्छ उनलाई, थोरै चुस्की लिएर । भन्छन्, ‘पेसेवर हिसाबले पिउँदिन, नियन्त्रित रूपमा पिउने गरेको छु, कहिलेकाहीँ मात्र ।’ललितपुरको इमाडोलमा बुवा, आमा, पत्नी र दुई छोरासँगै रहेका डा. भण्डारीलाई बेलाबखत भैरहवाको सम्झनाले निकै तान्छ । भैरहवा छँदाका साथी राजेन्द्र बनियाँलाई बारम्बार सम्झिन्छन् उनी ।

‘लगौंटिया यार’ बनियाँसँग आँप, इमिलीका अमिलो खान तँछाडमछाड नै चल्थ्यो । अहिले पनि त्यो क्षणको सम्झना गर्दा उनको मुखबाट पानी रसाउँछ रे । तर, आफू कृषि वैज्ञानिकमा जमे पनि छोरालाई भने चिकित्सा क्षेत्रतिरको अध्ययनमा लगाए । उनको गुनासो छ, ‘अनुसन्धान नभई कृषि क्षेत्रको विकास हुँदैन । यो संसारले नै पछ्याएको कुरा हो । तर, हामीकहाँ कृषि क्षेत्रको अनुसन्धानका लागि सम्बन्धित निकाय गम्भीर देखिँदैनन् । त्यहीकारण कृषि अनुसन्धानको क्षेत्र खुम्चिएको छ ।’

 





 

प्रतिकृया दिनुहोस