MENU

आवरण

635x90

वाम एकता कि सत्ता स्वार्थको गठजाेड

बसन्त बस्नेत आइतवार, आश्विन २२, २०७४

 एउटा चल्तीको खिसिट्युरी छ– ‘नेपालका कम्युनिस्टहरूलाई फुट्न ठूलो निहुँ चाहिन्न । माओ त्सेतुङले कान्छी पत्नी ल्याउनु उचित थियो कि थिएन भन्ने तर्कलाई सैद्धान्तिक बहसमा परिणत गरेर भए पनि फुटिहाल्छन् ।’ यो अतिशयोक्तिमा सत्यको अंश छ । २००६ सालयता करिब सात दशकको साम्यवादी समयरेखा पछ्याउने हो भने जुटभन्दा फुटको मात्रा बढी भेटिन्छ । ‘संसारका श्रमिक एकजुट हौँ’ नारामा कम्युनिस्टहरू कतिपल्ट फुटे होलान्, इतिहासकारहरूलाई खुट्याउन हम्मे छ ।

काठमाडौंमा १७ असोज साँझ भने पत्याउनै गाह्रो परिदृश्य देखियो । अलग अलग ओछ्यानमा सुतेर एउटै सपना देखिरहेका दुई मुख्य वामपन्थी घटक एमाले र माओवादी केन्द्रले साझा कम्युनिस्ट पार्टी बनाउन नीतिगत सहमति गरे । कांग्रेससँग आलोपालो सत्ता गठबन्धन हाँकिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अकस्मात् प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग नयाँ यात्राको लागि तयार हुनु नाटकीय प्रतीत हुने परिघटना थियो । त्यसो त दाहालले ६ जेठ २०७३ मा सानाठूला १० माओवादी घटक मिलाएर माओवादी केन्द्र बनाएथे । एकताको यो मेसोमा मिसिएका नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराई किन पछि पर्थे ! दुई वर्षयता छाडेको लालसलाम सम्झेर मज्जैले मुठ्ठी उज्याए ।

उनी फेरि कम्युनिस्ट भए । यो अभियानका केही ‘अन्कट सिन’ हरू पनि छन् । एकताका कम्युनिस्ट रहेका मधेशवादी हृदयेश त्रिपाठी पनि सूर्य चिह्नको घुमाउरो बाटो हुँदै पुरानो घर फर्कने क्रममा छन् । अनि उच्चस्रोतका अनुसार उपेन्द्र यादव, अशोक राईलगायत भूपू कम्युनिस्ट नेताहरूलाई पनि ‘घर फर्क’ अभियानमा ल्याउने प्रयत्न अन्तिम चरणमा छ । एकतासम्म पुग्ने ६ बुँदे मार्गचित्रसहित हाललाई चुनावी तालमेल गरेका यी कम्युनिस्ट दलहरूले केही महŒवपूर्ण घोषणाहरू गरेका छन् । उनीहरू लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाबाट सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । कम्युनिस्टहरू शक्तिशाली भए लोकतन्त्र संकटमा पर्छ र सर्वसत्तावाद मौलाउँछ भन्ठान्ने गैरवामपन्थी जनमतलाई उनीहरूले यो उद्घोषमार्फत् शुरुमै थुम्थुम्याउन खोजेको देखिन्छ ।

ओली र दाहाल स्वयम्ले नेतृत्व गर्ने पार्टी एकता संयोजन समितिले सैद्धान्तिक मतभेदहरूको निरुपण गरेको छैन । बरु ‘वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिने’ मोटो संकल्प सहमतिपत्रमा उल्लेख छ ।यो एकताको सकारात्मक पाटो– दुई वामपन्थी पार्टीहरू इतिहासतिर फर्केर एकअर्कालाई दोषारोपण गर्ने पुरातन साम्यवादी परम्पराबाट बाहिर निक्लने साहस गरेका छन् र भविष्यतिर हेर्ने जमर्को गरेका छन् । त्यस्तो ‘न्यायपूर्ण र समुन्नत समाज’ जसले ‘समाजवादका आधार’ तयार गर्नेछ । माओवादीको हिंसात्मक जनयुद्ध सही थियो कि थिएन, एमालेले हिजो लिएका राजनीतिक, आर्थिक नीतिहरू सही थिए कि थिएनन् आदिबारे उनीहरू मौन छन् ।

एमाले र माओवादी दुवैको आन्तरिक बाध्यतावश एकता अभियान शुरु भएको देखिए पनि कतिपयको दाबीमा भारत र चीनको चासो सहायक बन्न पुगेको छ।

यी कुनै पनि प्रश्नहरूको जवाफ १७ असोजको एकता अभियान घोषणामा दिइएन, बरु ‘जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेको’ हुनाले त्यसको सम्मान गरेको प्रस्टीकरण दिइयो । खासमा पत्रकारहरूका लागि भनेर राष्ट्रिय सभागृहमा आयोजना गरिएको भेलामा वाम कार्यकर्ता र समर्थकहरूको ओइरो थियो । थुप्रै पत्रकारहरूका लागि खुट्टो छिराउने ठाउँ बाँकी थिएन । दशैंको बीचमै भए पनि सभागृहका चौर, वरपरका गल्लीसम्मै भरिभराउ शुभेच्छुकहरू प्रमाण हुन्, नेपालमा वामपन्थी ध्रुवीकरण चाहनेहरूको बहुसंख्या छ । अनि संविधानले प्रत्याभूति गर्न नसकेको राजनीतिक स्थिरतालाई पछिल्ला चुनावी गठबन्धन र जुट्दै गएका पार्टीहरूले अर्को बाटोबाट प्राप्त गर्ने संकल्प लिनु आफैंमा रोचक छ । माक्र्सवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आए पनि एमाले र माओवादीबीच गनेरै नसकिने हदसम्म वैचारिक कार्यनीतिक विवाद, व्यक्तित्व टकराव र प्रतिशोधपूर्ण सम्बन्ध थियो ।

केन्द्रमा नेताहरूले बेलाबखत संयुक्त सरकार गठन गरे पनि जिल्ला र स्थानीय तहमा कार्यकर्ताहरूबीच युद्धकालदेखि नै कटुता व्याप्त थियो । एमालेले माओवादीलाई राजनीतिक आवरणमा उदाएको आतंकवादी ठानेको थियो भने माओवादीले एमालेलाई कम्युनिस्ट आवरणमा मौलाएको संशोधनवाद र प्रतिक्रियावाद भनेको थियो । एमालेका नेता–कार्यकर्तालाई सुराकी र सामन्तको आरोपमा माओवादीले विस्थापितदेखि सफायासम्म गरेको थियो ।एक अर्कासँग मिल्नै नसक्ने ठानिएका एमाले र माओवादी केन्द्रलाई के त्यस्तो जादुयी छडीले एक ठाउँ जोडिदियो त ? षड्यन्त्र सिद्धान्तको व्यापार चल्ने काठमाडौं खाल्डोमा राजनीतिदेखि भू–राजनीतिसम्मका तानावानाहरूकै कारण यो एकता अभियान घोषणा भएको विश्लेषण गर्नेहरू कम छैनन् ।

तीमध्ये कतिपयको बुझाइमा नेपाली राजनीतिमा आधा शताब्दीभन्दा बढी अवधिदेखि भारतले राख्दै आएको प्रभुत्वपूर्ण रवैयाको अध्याय अब सकियो, चीनको शुरु भयो । उनीहरूले यस घोषणालाई दुई पार्टीबीचको आन्तरिक एकता नभई दुई शक्तिशाली देशहरूबीचको भू–राजनीतिक बक्सिङ ठानेका छन् ।कोण प्रतिकोणबाट बहसहरू शुरु भए पनि एमाले र माओवादीभित्रका बाध्यता नै यो वामपन्थी गठजोडका मुख्य कारण रहेको बुझ्न गाह्रो छैन । एकता अभियानका एक सूत्राधार रहेका माओवादी नेताको भनाइमा यो पहिले नै हुनुपर्ने, तर नेताहरूबीचको ईख व्यवस्थापन हुन नसक्दा ढिलो भएको परियोजना हो । ‘मेरै व्यक्तिगत प्रयासमा ओलीजी र प्रचण्डलाई आधा दर्जनपल्ट बसाएँ हुँला, यही एउटा एजेन्डामा,’ ती माओवादी नेताले भने, ‘हाम्रोमा सानो केही विकासक्रम भयो कि, छिमेकीतिर देखाउने लघुताभाषपूर्ण मनोविज्ञान छ ।’ एकता अभियानमा सक्रिय एमाले महासचिव ईश्वर पोखरेलका अनुसार यो अकस्मात्को राजनीतिक विकास होइन ।

उनले अन्नपूर्ण टुडेसँग भने, ‘माओवादी शान्ति प्रक्रियामा आउनेबित्तिकै एकताको मस्यौदापत्र नै तयार भएको थियो, बीचमा देखिने÷नदेखिने अनेक खेलकुदका कारण रोकिएको हो । अब कसैले रोक्न सक्दैन यो एकता ।’अर्का नेता सुवास नेम्वाङले थपे, ‘शीर्ष नेतृत्व तहमा पटक–पटक कुरा भइरहेको थियो । अलिकतिमात्रै सूचना चुहिए पनि एकता भाँड्ने तŒव सक्रिय हुने डरले हामीले गोप्यता कायम ग¥यौँ । यो बिलकुल हाम्रो प्रयास हो, कसैबाट अन्यथा भएको होइन ।’ नेम्वाङ तिनै नेता हुन्, जसको बालुवाटारस्थित निवासमा माओवादी दोस्रो तहका नेताहरू पटक–पटक गएर वार्ता गरेका छन् । कस्तै तिक्तताबीच पनि माओवादी नेता नारायणकाजी श्रेष्ठको हात्तीवन निवासमा ओली र दाहालको भेट हुने गरेको थियो । नेम्वाङका भनाइमा असमझदारीका बीच दुई नेताहरूबीच भविष्यको साझा बाटोबारे सोच्ने आधार कहीँ न कहीँ तयार भएको थियो ।

चिनियाँ प्रोजेक्ट !

नेताहरूले यस्तो दाबी गर्नु स्वभाविक भए पनि पछिल्ला महिनाहरूमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले हरेकपल्टका भेटमा यी कम्युनिस्ट नेताहरूलाई सोध्ने एउटै प्रश्न थियो– ‘तपाईंहरूको एकताचाहिँ कहिले हुन्छ ?’ माओवादीका एक नेताको भनाइमा त्यो केवल प्रश्न थिएन, चिनियाँ चासो सन्निहित रहेको स्पष्ट सन्देश थियो । ‘स्थिर सरकार र कम्युनिस्ट पार्टीसँग चीनले सम्बन्ध राख्न चाहेको हो,’ ती नेताले थपे, ‘संविधान जारी भएपछि पटक–पटक सरकार परिवर्तन भएकामा चिनियाँहरू बेखुशी थिए । हामीले उनीहरू खुशी छन् कि छैनन् भन्दा पनि हामीले लिइरहेको बाटो ठीक छ कि छैन हेर्ने हो ।’ निकटस्थहरूको बुझाइमा संविधान जारी गरेसँगै दुवै दलको नेतृत्वमा बढेको आत्मविश्वास नै पार्टी एकताको प्रस्थानविन्दु थियो, जसले भारतीय संस्थापनसँग राय बझाएर राजनीतिक निर्णयहरू लिन सक्थ्यो ।

एमाले–माओवादी एकताको तयारीलाई बृहत् वाम शक्ति निर्माण गर्ने अभियानका रूपमा स्वागत गर्नुपर्ने निचोड कतिपयको छ । कतिपयले भने भर्खरैको स्थानीय चुनावले दुवै दललाई दिएको परोक्ष सन्देश नै एकताको आधार रहेको तर्क गरेका छन् । तेस्रो शक्ति भएर पनि राजनीतिक शक्तिका रूपमा खिइँदै गएको माओवादी, अनि थोरै अन्तरले पहिलो दल भएर पनि भू–राजनीतिक खिचातानीका कारण पृष्ठभागमा धकेलिएको एमालेका लागि यो एकता अनिवार्य भएर गएको दुवै पार्टीका दोस्रो तहका नेताहरू सकार्छन् । सभागृहको कार्यक्रममा अध्यक्षहरू ओली र दाहालले आगामी चुनावलाई लक्षित गरेर दिएका ‘दुई तिहाइ बहुमत ल्याउने’ टिप्पणीहरूबाट यो बुझ्न सकिन्छ । कथं राजनीतिक स्थिरतालाई सुनिश्चित गर्दै आर्थिक विकास र संविधानले दिशानिर्देश गरेको समाजवादको सपनालाई आकार दिन यो नेतृत्व लाग्यो भने त्यसलाई अधिकतम योगदान मान्नुपर्ने हुन्छ । अनि गैरवामपन्थी जनमतलाई ध्रुवीकृत गर्न लागिरहेको कांग्रेसका लागि पनि आफ्नो राजनीतिक जमिन स्पष्ट गर्ने आधार मिल्नेछ ।

कांग्रेस नेताहरूले दुई वाम एक ठाम भएको घटनालाई अस्वाभाविक भनी टिप्पणी गरे पनि उनीहरू स्वयं अर्को गठबन्धन बनाउन लाग्नुले राजनीतिमा ध्रुवीकरण शुरु भएको संकेत मिल्छ ।अन्त्यमा, कार्ल माक्र्सको एउटा पंक्ति चर्चित छ : आजसम्मको मानव इतिहास वर्गसंघर्षको इतिहास हो । कम्युनिस्टका भीष्मपितामहबाट यो वाक्यलाई संशोधन गर्ने हो भने भन्न सकिन्छ– नेपालका कम्युनिस्टहरूको इतिहास टुटफुट र विभाजनको इतिहास हो । वाम गठबन्धन एकताका अभियन्ताहरूलाई यी ठट्यौलीहरूलाई असत्य सिद्ध गर्ने अवसर इतिहासले दिएको छ । त्यो अवसर उपयोग गर्छन् या गर्दैनन्– भित्र÷बाहिरका सबैखाले खेलकुदहरू थेग्ने उनीहरूको क्षमतामा निर्भर रहनेछ । अनि, इतिहासबाट ठगिएका वर्ग, क्षेत्र र समुदायबारे उनीहरूले भविष्यमा लिने नीति कत्तिको सुझबुझपूर्ण वा उदासीन हुनेछ– हेरिनेछ ।

यस्तो छ सहमतिपत्र

२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी वर्ग संघर्ष, विचाराधारात्मक संघर्ष र व्यवहारिक प्रयोगका अनेक शृंखला पार गर्दै आजको अवस्थामा आइपुगेको छ । नेकपा एमाले र माओवादी केन्द्रको नीतिगत र व्यवहारिक नेतृत्वमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख संविधान निर्माण गर्न सम्भव भएको छ ।फरक–फरक पृष्ठभूमिका साथ अघि बढेका हामी राष्ट्रिय सार्वभौकिता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमान रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधान रक्षा र प्रयोग क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरण गर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाज निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौँ ।

मजदुर, किसान, श्रमजीवी, दलित, महिला, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित समुदाय र पिछडिएका क्षेत्रको जनताको अधिकार र हितका पक्षमा संवैधानिक, कानुनी र व्यवहारिक रूपमा सम्बोधन गर्दै अघि बढ्न प्रतिबद्ध छौँ ।नेपाली जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन् । हाम्रो पृष्ठभूमिका र जनताको चाहना र राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन् । तसर्थ हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टी बीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौँ । हामी पार्टी एकीकरण गर्ने उद्देश्यका साथ तत्काल निम्नानुसार गर्ने निष्कर्षमा पुगेका छौँ ।

१) एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टी बीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई आठ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने । उक्त समितिमा एमालेको तर्फबाट चार जना, माओवादी केन्द्रका तर्फबाट तीन जना, नयाँशक्ति पार्टीका तर्फबाट एक जना नेता रहने । एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष उक्त समितिमा प्रमुख नेताको भूमिका रहने । पार्टी एकता संयोजन समितिका निर्णयहरू सहमतिका आधारमा गर्ने । पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने । सहमति हुन बाँकी विषयहरूमा आपसी छलफलद्वारा सहमति कायम गरिनेछ । वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ ।

२) एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीन वटै पार्टीका प्रतिनिधि सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकता सम्पन्न गर्ने ।

३) पार्टी एकीकरणको वैचारित र संगठनात्मक काम पूरा नभएसम्म आफ्ना आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने । तर, पार्टी एकीकरणको आधार सुदृढ बनाउन एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने । पार्टी एकीकरणको यस महान् उद्देश्यअनुरूप अघि बढ्न आफ्नो आफ्नो पार्टी पंक्तिलाई आह्वान गर्ने । छरिएर रहेका सबै कम्युनिस्ट तथा वामपन्थी पार्टी तथा समूहहरूलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने ।

४) आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फका निर्वाचनहरूमा नयाँशक्ति पार्टी नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने ।

५) उक्त निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने । यसका लागि तीनै पार्टीका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्ने । प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने ।

६) आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालेमलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्ने ।

केपी ओली
अध्यक्ष, नेकपा एमाले

पुष्पकमल दाहाल प्रचण्ड

अध्यक्ष, नेकपा माओवादी केन्द्र

बाबुराम भट्टराई
संयोजक, नयाँशक्ति पार्टी नेपाल
१७ असोज २०७४

 

agreement 1

agreement-2_2

प्रतिकृया दिनुहोस