MENU

आवरण

635x90

वाम एकताको अध्याय : दर्जनौं फुटपछि अब एउटै कम्युनिस्ट पार्टी

रविराज बराल आइतवार, आश्विन २२, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका उम्मेदवार छान्न १६ असोजमा बोलाइएको माओवादी केन्द्र सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एकताको प्रसंग उठाउँदै एकाएक सहमतिको मस्यौदा पढ्न थाले । कल्पनै गर्न नसकिने गरी आएको त्यो प्रस्तावले नेताहरूलाई तत्क्षण प्रतिक्रियाविहीन त बनायो, केहीले भने आपत्ति नै जनाए । तीमध्ये एक थिए, गोपाल किराती । एमालेप्रति कडा विचार राख्नेमध्येका एक किरातीले सीधासीधा प्रस्ताव अस्वीकार गर्दै बैठकबाट उठेर हिँडे । दाहाल रोकिने कुरै थिएन, किनकि उनले त्यस बेलासम्म एकता अभियानमा अग्रसर हुने ठहर गरिसकेका थिए ।  

एकादुईबाहेक अन्य नेताहरू एकता प्रस्तावको पक्षमा उभिएपछि त्यससम्बन्धी निर्णय गर्ने अधिकार बैठकले दाहाललाई दियो । निकटस्थहरूलाई थाहै थियो, माओवादी केन्द्रको नाटकीय निर्णय अघिल्लो दिन बसेको एमाले स्थायी समिति बैठकको निरन्तरता थियो । १५ असोजमा एमाले स्थायी समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम पार्टीहरूसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो । एमाले र माओवादी केन्द्रको निर्णयले तेस्रो दिनमै पूर्णता पायो । आम नागरिकले खबर सुने, बिस्तारै स्वभाविक रूपमा लिए ।

अब छक्क पर्ने पालो स्वयम् शीर्षस्थ नेताहरूको थियो । किनकि दुई वर्षअघि माओवादी त्यागेर गैरकम्युनिस्ट चरित्रको नयाँशक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराई पनि लालसलाम गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा मिसिए । आउँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा तालमेलको निर्णय गरेका तीन दलले चुनावपछि पार्टी एकता गर्ने घोषणा गरेका छन् । र, अन्य वामपन्थी दलहरूलाई पनि एकता प्रक्रियामा आउन उनीहरूले आह्वान गरेका छन् । केही समयअघिसम्म एकअर्काका बारेमा आगो ओकलिरहेका नेताहरू कसरी चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने निष्कर्षमा पुगे ? ती दलका जिम्मेवार नेताहरूसमेत यो प्रश्नले हैरान थिए । कारण, शीर्ष तहमा भित्रभित्रै तयारी भए पनि यसलाई अत्यन्त गोप्य राखिएको थियो । सीमित नेताबाहेकलाई समेत यसको छनक थिएन । एमाले सचिव प्रदीप ज्ञवालीको भनाइमा नेताहरूबीच बाहिर सम्बन्ध तिक्त देखिए पनि भित्र निरन्तर संवाद जारी थियो ।

चुनावमा तालमेलको निर्णय गरेका वामपन्थी दलहरूले चुनावपछि पार्टी एकता गर्ने घोषणा गरेका छन्। यो घोषणाले झस्किएको कांग्रेसले पनि आफ्नै नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माण थालेको छ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीचको भेटघाट प्रदेश २ को स्थानीय तहको चुनावी नतिजासँगै सघन भएको थियो । ‘दुवै पार्टीका अध्यक्षको पहल र शुरुवातमा यो प्रक्रिया अघि बढ्यो, सहयोगी हातहरू त हुने नै भए,’ ज्ञवाली भन्छन्, ‘जतिवेला नेताहरू सार्वजनिक कार्यक्रममा एकअर्काविरुद्ध कटु आलोचना गरिरहेका हुन्थे, त्यति नै वेला शीर्ष तहमा तालमेल र एकताका लागि वार्ताहरू पनि चलिरहेका थिए ।’ छलफल ओली र दाहालबीच मात्र नभई नयाँशक्तिका संयोजक भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि चलिरहेको थियो । यद्यपि, प्रदेश २ मा दोस्रो दलको हैसियत बनेको वेला वाम गठबन्धनमा समाहित हुनु प्रत्युत्पादक हुने ठानेर यादव अन्तिम समयमा सहमतिबाट पछि हटेका थिए ।

एकताको आवश्यकता

एमालेसँगको सत्तासाझेदारी तोडेर माओवादी केन्द्र कांग्रेसको पोल्टामा गएपछि लामो समय उनीहरूबीच गालीगलौज चल्यो । तर कांग्रेस–माओवादी गठबन्धन रहेसम्म सत्ताबाट बाहिर रहनुपर्ने बुझेको एमाले पछिल्ला दिनमा जुनसुकै हालतमा माओवादीसँग सहकार्य र तालमेल गर्नुपर्ने निष्कर्षमा पुग्यो । प्रदेश २ को चुनावी नतिजा त्यसको ‘टर्निङ प्वाइन्ट’ बन्यो । यो प्रदेशमा एमालेलाई पाँचौँ वरीयतामा छाडेर माओवादी चौथो भएपछि ओली स्वयं दुई वाम पार्टी सम्बन्धलाई पुनर्विचार गर्ने तहमा पुगे । यता माओवादी केन्द्रभित्र पनि सत्ता समीकरणमा आफ्नो निर्णायक भूमिका भए पनि त्यो प्रभावकारी नभएको बुझाइ थियो । वाम राजनीतिलाई नजिकैबाट हेर्दै आएका विश्लेषक झलक सुवेदी एमाले र माओवादी केन्द्रका नेताहरूले यो तथ्य स्वीकार गरेको बताउँछन् । ‘कांग्रेस माओवादी मिलुन्जेल सत्ता र सरकारमा एमालेको उपस्थिति नहुने भयो । प्रचण्ड पनि प्रधानमन्त्री त हुने तर सधैं अरूको वैशाखी बन्नुपर्ने अवस्था थियो,’ सुवेदी भन्छन्, ‘दुवै पक्षले यो तथ्यलाई महसुस गरेको देखिन्छ ।

एमाले सचिव ज्ञवाली पनि चुनावमा पहिलो दल नै बने पनि सत्ताको बागडोर आफ्नो हातबाट फुत्किने डर एमालेभित्र पलाएको स्वीकार्छन् । ‘एमाले ठूलो पार्टी त बन्ने भयो तर यत्तिकै जाँदा ढुक्कको बहुमत हुन्छ कि हुन्न भन्नेमा हामीलाई पनि शंका भयो,’ ज्ञवाली भन्छन्, ‘माओवादीलाई पनि तेस्रो पार्टीका रूपमा कहिले यता कहिले उता मिल्ने गरेर राजनीतिमा नेतृत्व गर्ने अवसर नहुने भयो ।’ राजनीतिशास्त्री कृष्ण खनाल पनि आउँदो चुनाव जित्ने र सत्तामा वर्चश्व जमाउने उद्देश्यले वाम पार्टीहरूबीच एकता भएको बताउँछन् । ‘अहिलेको निर्वाचन प्रणालीमा कसैले पनि बहुमत ल्याउने अवस्था छैन, गठबन्धन अनिवार्यजस्तै छ,’ खनाल भन्छन्, ‘चुनावपछि गठबन्धन बदलेर अस्थिर सरकार बनाउनुभन्दा चुनावअघि नै गठबन्धन बनाउनु सकारात्मक कुरा हो ।’ गठबन्धन र एकता प्रक्रियाले निरन्तरता पायो भने त्यसले नेपाली राजनीतिमा दूरगामी महत्व राख्ने उनी बताउँछन् ।

अनेक पार्टीहरू किन चाहियो ? आ–आफ्नो ताउलो बसाउने काम छोडौँ। हामीले ठूलो सानो भनेका छैनौँ। राष्ट्रलाई अगाडि बढाउनेबाहेक हाम्रो उद्देश्य छैन। यो एकता त्यही भावनाबाट प्रेरित छ। केपी ओली, एमाले अध्यक्ष

वामपन्थी दलको एकता प्रक्रियाले कांग्रेस नराम्रोसँग झस्केको छ । जसरी कांग्रेससँग सहमति गर्दै माओवादी केन्द्रले ओली सरकारबाट ०७३ मा समर्थन फिर्ता लिँदा एमाले रन्थनिएको थियो, त्यसरी नै अहिले वाम गठबन्धनका लागि उसले कांग्रेससँगको यात्रामा पूर्णविराम लगाएपछि कांग्रेस बिथोलिएको छ । वामपन्थी एकता कसैको विरुद्ध नरहेको स्पष्टोक्ति दिँदै गर्दा एमाले अध्यक्ष ओलीले ‘निद्राको ट्याब्लेट बढी बिक्ने डर रहेको’ भन्दै राष्ट्रिय सभागृहबाटै कांग्रेसलाई व्यंग्य गर्न भ्याएका थिए । माओवादीले धोका दिएको प्रतिक्रिया दिँदै उसले लोकतान्त्रिक गठबन्धन बनाउने अभियान थालिसकेको छ । १७ असाेजमा राष्ट्रिय सभागृहमा भएको सहमति घोषणा कार्यक्रममा दाहाल र भट्टराई दबाबमा देखिन्थे, तर ओलीको अनुहारमा कान्ति थियो । ‘देशको आवश्यकता र जनताको आकांक्षाबमोजिम एउटै कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढेको’ बताएका ओलीले ‘०७४ सालमा देशको जन्मकुण्डलीमा देशभक्त र वामपन्थीको सरकार बन्न लेखेको’ टिप्पणी गरे ।

आउँदो निर्वाचनमा वामपन्थी शक्तिले दुई तिहाइ ल्याउने घोषणा पनि उनले गरे । माओवादी केन्द्रका अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आउनेबित्तिकै एउटै कम्युनिस्ट पार्टी बनाउने प्रयास गरे पनि वस्तुगत आवश्यकता र मनोगत चाहना नमिल्दा असफल भएको स्मरण गरे । वामपन्थीहरूबीचको एकता प्रयास कसैविरुद्ध लक्षित नभएको स्पष्टीकरण दिँदै उनले सहमति ‘ऐतिहासिक’ र ‘निरन्तरतामाथिको क्रमभंगता’ भएको टिप्पणी गरे । साथै ‘समाजवादको नयाँ मोडेल तयार पार्ने महान् भावना सहमतिको उद्देश्य रहेको’ जिकिर पनि गरे । नयाँशक्ति नेपालका संयोजक भट्टराईले पनि दाहाल र ओलीजस्तै बृहत् राजनीतिक ध्रुवीकरणमार्फत् नयाँ पार्टी गठन गर्ने र समुन्नत समाजवादतर्फ अघि बढ्नु एकताको उद्देश्य रहेको दाबी गरे ।

गठबन्धनको भविष्य

तीन दलका नेताले एकतामार्फत नयाँ पार्टी बनाउने घोषणा गरे पनि माओवादी केन्द्रकै नेता विश्वभक्त दुलाल ‘आहुति’ यो एकताले वास्तविक कम्युनिस्ट आन्दोलन उठाउनेमा विश्वस्त छैनन् । ‘मोटामोटी यही संविधान र यथास्थितिमा राजनीति गर्ने हो भने मिलेरै जाँदा राम्रो हुन्छ,’ भन्छन्, ‘हतारमा जुन ढंगले यसो गरिँदैछ यसले कम्युनिस्ट आन्दोलन बनाउँदैन ।’ समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा, एमाले र माओवादीले दस्तावेजहरूमा एकअर्काका बारेमा गरेका विश्लेषण कति ठीक/बेठीक भन्ने मूल्यांकन नगरी वास्तविक एकता नहुने उनको बुझाइ छ । भन्छन्, ‘वाम झुकाव भएको मोर्चा बनाउने कुराको हिस्सेदारी लिन नहुने देख्दिनँ, तर यो प्रक्रियाबाट पार्टी बन्दैन ।’

अध्यक्ष ओलीले घोषणा कार्यक्रममा वामपन्थीबीचको एकता प्रयास ‘अन्त्य नभई शुरुवात भएको’ टिप्पणी गरेका थिए । तर विश्लेषक झलक सुवेदी घोषणा हुँदैमा एकीकरणका लागि परिपक्व नभएको बताउँछन् । ‘नेपालमा यति ठूला कम्युनिस्ट पार्टीहरू एक भएका छैनन्, यो एकताले पूर्णता पायो भने यो दीर्घकालीन महत्‍वको हुन्छ,’ उनी भन्छन्, ‘तर यो परिपक्व भइसकेको छैन । एकअर्काको इगो व्यवस्थापन गरेर नेताहरूले कसरी एकता पूरा गर्छन्, हेर्नुपर्छ ।’ राजनीतिशास्त्री कृष्ण खनाल पनि अहिले अपनाएको निर्वाचन प्रणालीका कारण सरकार निर्माणका क्रममा गठबन्धन अनिवार्य बनेकाले चुनावपूर्व गठबन्धन बन्नु सकारात्मक भएको बताउँछन् ।

 कांग्रेसको पनि मोर्चा

वामपन्थी गठबन्धन घोषणा भएको २४ घन्टा नबित्दै त्यसलाई काउन्टर दिन कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएपछि राजनीतिक परिदृश्य झन् रोचक हुने भएको छ । एमाले, माओवादी र नयाँ शक्तिले सहमति गरेको भोलिपल्टै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा डाकेको ६ दलको बैठकमा मंसिरको चुनावमा मिलेर जाने सहमति भएको हो । बैठकमा कांग्रेससहित राजपा, संघीय फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक र लोकतान्त्रिक फोरम सहभागी थिए । तालमेलको मोडालिटी तय गर्न ७ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा कांग्रेसका दुई र अन्य दलका एक एक सदस्य रहनेछन् । सत्तासाझेदार माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने निर्णय गरेपछि आत्तिएको कांग्रेसले वर्तमान सरकारको भविष्य समेत सुरक्षित हुने गरी गठबन्धन निर्माण थालेको हो ।

 

साथमा याे पनि पढ्नुहाेस् । 

 

वाम एकता कि सत्ता स्वार्थको गठजाेड

 

 

प्रतिकृया दिनुहोस