MENU

आवरण

635x90

दाम्पत्य नै वरदान

धीरजकुमार देवकोटा आइतवार, आश्विन ८, २०७४

तेक्वान्दोका राष्ट्रिय खेलाडी दीपक विष्ट सिनियर खेलाडी थिए । दिनहुँ रंगशाला धाउँथे । त्यस्तै, आयशा शाक्य पनि तेक्वान्दोमै भविष्य पछ्याउन रंगशाला पुग्थिन् । एकै ठाउँबाट रंगशालासम्मको यात्रा तय गर्थे । खेल एउटै, खेल्ने ठाउँ एउटै । विस्तारै भेटघाट बाक्लियो । रंगशाला उनीहरूको लागि प्यारो बन्दै गयो । एकअर्काप्रति आकर्षित हुँदै गए । करिब ६ वर्षसम्म चल्यो यो जोडीको प्रेमसम्बन्ध । जुन अधिकांशले भेउ नै पाएनन् । जोडीको प्रेम सम्बन्ध विवाहमा परिणत भएको पनि ६ वर्ष बितिसक्यो । खेल क्षेत्रका सर्वाधिक सफल जोडीको एउटा छोरा छ । अर्को पनि दैलोमै आइपुग्ने तरखरमा छ ।ललितपुर पाटन नकबहालकी आयशा शाक्य तेक्वान्दोकी पाँचौं डान हुन् ।

श्रीलंकामा सम्पन्न १० औं सागमा ५९ केजी तौल समूहमा रजत जितेकी उनले कतारको दोहामा सम्पन्न १५ एसियाली खेलमा कास्य हात पारिन् । त्यस्तै, कोरियामा भएको फस्ट वल्र्ड तेक्वान्दो कल्चर एक्सपोमा समेत उनले कास्य जितिन् । त्यस्तै, ११ औं सागमा भने उनले स्वर्ण नै जितिन् । यस्ता कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता उनका नाममा दर्ज भइसकेका छन् । १२ साउन २०४४ मा ललितपुरको पाटनमा जन्मिएकी उनी आमाबुवाको प्रेरणाले तेक्वान्दोमा लागिन् । स्कुले जीवनदेखि नै उनी जिम्न्यास्टिक तथा तेक्वान्दोमा सक्रिय भइन् । थाइल्यान्डमा भएको एसियन च्याम्यिनसिप २००६ बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेकिन्, उनले । फुर्तिलो शरीर, अनुशासन र दृढ आत्मविश्वासकी धनी शाक्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक हात पारिसकिन् ।

विष्ट र उनको उमेरको फरक १० वर्षको छ । एउटै उमेरका दम्पती हुँदा को ठूलो र को सानो भन्ने घमण्ड हुने बताउँछिन्, शाक्य । भन्छिन्, ‘उमेर एकै हुँदा तँ ठूलो कि म ठूलोको घमण्ड भइरहन्छ,’ उनी हाँस्दै भन्छिन्, ‘उमेरअन्तर बढी हुँदा कमसेकम आदर, अभिभावकत्व र सम्मान त बढ्छ । यसले खेलमा पनि परिपक्वता बढाएको छ ।’ बिहेले सुदूरपश्चिमको डडेलधुरा र ललितपुरको दुई सामाजिक संस्कारलाई सजिलै जोड्यो । तर, दुई परिवारको सम्बन्धलाई जोड्न लामो समय लगायो । अन्तरजातीय बिहेले उनीहरूलाई पनि सास्ती दियो । ‘बिहेपछि समाज नै सबैभन्दा शक्तिशाली रहेछ,’ परिवारबाट बिहे अस्वीकार हुँदाको क्षण दीपकले सम्झे, ‘बाध्यतावश प्रेम विवाह गरियो । तर, परिवार र समाजबिना बाच्न नसकिने रहेछ । शुरुमा परिवारबाट अप्ठ्यारो भयो । अहिले कुनै रोकटोक छैन ।’ विष्टलाई आफ्नोभन्दा आयशाको परिवारलाई मनाउन बढी समय लाग्यो । भन्छन्, ‘परिवारले हाम्रो प्रेम नबुझ्दा निकै तनाव भयो ।’

महिलाका लागि विवाहपछिका दिनहरू कष्टकर मानिने गर्छ। सानो केही गर्नुपरे परिवार र पतिको सहयोग चाहिन्छ। तर, आयशाका लागि बिहे ‘वरदान’ बन्यो।

आफूखुशी विवाह गर्ने कैयौं परिवारमा कलह देखेका विष्टलाई परिवारमा हुने सम्भावित दुर्घटनाको चिन्ता थियो, तर आयशाले परिवारलाई निरास हुन दिइनन् । ‘शहरमा हुर्केर ग्रामीण परिवेशको परिवारमा उनी मिलेर बस्न सकिन् । बुवाआमाको सेवामा कुनै कसर बाँकी राखिनन् । यो नै उनको सबैभन्दा सुन्दर पक्ष हो,’ पत्नीको खुलेर तारिफ गर्छन्, उनी । शाक्यले पनि सामाजिक संस्कारमा आँच आउन दिइनन् । भन्छिन्, ‘परिवार कसरी चलाउने भन्ने सिक्नैपर्ने रहेछ । उहाँको परिवारले हाम्रो सम्बन्धलाई चाँडै स्वीकार्दा सजिलो भयो ।’बिहेअघि राष्ट्रियस्तरमै चर्चा कमाइसकेको शाक्यको सफलतालाई विष्टले अझ उचाइमा पुर्‍याउन अहोरात्र लागिपरे । हाम्रो समाजका महिलाका लागि विवाहपछिका दिनहरू कष्टकर प्रायः हुने गर्छ । केही गर्नुपरे परिवार र पतिको सहयोग चाहिने गर्छ । तर, आयशाका लागि बिहे ‘वरदान’ बन्यो । उनले पाएका अधिकांश सफलतामा विष्टको हात महत्वपूर्ण रह्यो ।

‘शाक्य आफैंमा एउटी सफल र मिहिनेती खेलाडी भएको कारण उनलाई मैले कहिल्यै नखेल्न भन्न सकिनँ, बरु हौसला र प्रेरणा दिइरहन्थेँ,’ दीपक पत्नीको इच्छाशक्ति र खेलप्रतिको लगावबारे भन्छन्, ‘छोरो सानै थियो, घरपरिवार मिलाउनेदेखि, शरीरले साथ पनि दिइरहेको थिएन, त्यै पनि उनले खेलिन्, उनको यो सारसप्रति म नतमस्तक छु ।’आफ्ना चाहना अनि लक्ष्य सबै विवाहअघि तथा सन्तान जन्मनुअघि नै पूरा गर्न सक्नुपर्छ । विवाहपछिको घरधन्दा, परिवारको खुशीको लागि आफ्नो इच्छालाई दबाउनुपर्ने रुढीवाद यदाकदा कायमै छ । तर, यो दम्पती भने यसप्रति सचेत छ । आमा बनिसकेको र परिवारलाई अत्यधिक समय दिनुपर्ने समयमा पनि अनेकन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी रमाइरहिन् ।

उनीहरूको लागि परिवारको सुख जत्तिकै खेल र यसबाट कमाएको इज्जत पनि हो । शाक्य भन्छिन्, ‘हामीले कतिपयलाई बिहेपछि थुनिएर जीवन बर्बाद पारिरहेका देख्यौँ । चाहेर पनि परिवारको बन्धन तोडेर अघि बढ्न सकिरहेका छैनन् । तर, हामीले बिहेपछि पनि आफूले आँटेको धेरै गर्न सकिन्छ भन्ने उदाहरण दियौँ जस्तो लाग्छ । जसका कारण कोही पनि लक्ष्यबाट विमुख नहोऊन् ।’ पत्नीको भनाइमा होमा हो मिलाउँदै विष्ट भन्छन्, ‘बिहेपछि बच्चा नहुँदा धेरैले खेलेको देखेको छु, तर बच्चा जन्मेर पनि खेल क्षेत्रलाई अगाडि बढाउन सक्ने आयशाजस्तो साहसी महिला कमै देखेको छु ।’

‘बच्चा भइसकेपछि महिला कमजोर हुन्छन्, उनीहरूले केही गर्न सक्दैनन् भन्ने जुन मानसिकता आजपर्यन्त छ, त्यसलाई हामीले तोड्न सक्यौँ, यो नै हाम्रो लागि खुशीको कुरा हो,’ उनी आफूले खेलप्रति गर्नुपरेको संघर्षबारे भन्छिन्, ‘जहाँ गए पनि मैले गर्नुपर्ने संघर्ष मसँगै हुन्छ, फरक यत्ति हो कि मेरो संघर्षमा सहयोग कस्तो पाउँछु भन्ने ।’ छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण, माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो–२०११ र २०१४ मा पनि स्वर्ण, तेस्रो एसियन तेक्वान्दो च्याम्पियनसिप र २०१२ को साफ च्याम्पियनसिपमा रजत उनका विवाहपछिका उपलब्धि हुन् । उनलाई दीपकसँगको सम्बन्धप्रति
कुनै गुनासो छैन । उनी हाँस्दै र विष्टतिर आँखा घुमाउँदै भन्छिन्, ‘यत्तिको साथ र सहयोग पाउँछु भन्ने पहिले नै लागेको थियो, भनेको जस्तो भयो, हामी पूर्ण रूपले सन्तुष्ट छौँ ।’



 

प्रतिकृया दिनुहोस