MENU

आवरण

635x90

चम्किँदै रजतपट : नेपाली सिनेमाको सात दशक

विजय अधिकारी मंगलवार, भाद्र २७, २०७४

सिनेमा धेरैका लागि मनोरन्जन, केहीका लागि कला–संस्कृतिको धरोहर । केहीका लागि व्यवसाय र जीविकोपार्जनको माध्यम, त केहीका लागि उत्सुकता र चासोको विषय । सिनेमाको महत्व जसका लागि छ, त्यसका लागि यसको परिभाषा पृथक हुँदै जान्छ । तर, सिनेमा आधारभूत रूपमा मनोरन्जनको माध्यम भए पनि यसको सम्बन्ध गाँसिएको छ, समाज र संस्कृतिसँग । समाजका कथाहरूको प्रतिबिम्ब हो, सिनेमा । संस्कृतिको प्रतिनिधित्व गर्ने उपज हो, सिनेमा । हाम्रै भाषा, भेष, गाउँ, शहर, गीत र कथाहरूले नै नेपाली सिनेमा बनेका छन् । यो हो, विगत ६७ वर्षदेखि समकालीन समाजको चित्रण गर्दै आएको हाम्रो नेपाली सिनेमाको एउटा लघु–गाथा ।

नेपाली सिनेमाको प्रारम्भिक काल

अन्य देशका सिनेमाको तुलनामा नेपाली सिनेमाको इतिहास त्यति लामो छैन । पञ्चायत सरकारले व्यवस्था टिकाउनका लागि विसं २०२२ मा ‘आमा’ सिनेमा बनाएर कला–मनोरन्जको पनि साथ लिएको थियो । कलाकारहरू शिवशंकर मानन्धर तथा भुवन चन्दलाई नेपाली सिनेमा क्षेत्रका प्रथम ‘हिरो–हिरोइन’ मानिएको पनि छ । २००७ सालमा प्रदर्शित डीबी परियारको ‘सत्य हरिशचन्द्र’लाई नेपाली भाषाको पहिलो सिनेमा मानिन्छ । सिनेमा विज्ञ, सिने पत्रकार र जानकारहरूबीच यो विवाद ताजै छ ।

तर, इतिहासका प्रमाणहरूले पनि ‘सत्य हरिश्चन्द्र’ नै नेपाली भाषाको पहिलो सिनेमा भएको पुष्टि हुन्छ । हुन त विवाद अझै तन्किन सक्छ, ‘के शिवशंकर पहिलो अभिनेता होइनन् ?,’ ‘के भुवन चन्दलाई पहिलो हिरोइन नमान्ने ?’ भनेर । तर, शाब्दिक र तार्किक भन्दा वैज्ञानिक र भौगोलिक हिसाबले हेर्दा सिनेमा ‘सत्य हरिशचन्द्र’मा कालिम्पोङमा जन्मेकी नेपाली चेली पासाङ ल्हामु तामाङ र भारतका मुसलमान अभिनेता प्रेम नजीरले ‘सत्य हरिश्चन्द्र’मा हिरो–हिरोइनको भूमिका निर्वाह गरेको र उनीहरूको प्राथमिक रूपमा नेपाली नभएका कारण यो विवाद अझै पनि आलै छ । तर, नेपाली भाषाको पहिलो सिनेमा भने ‘सत्य हरिश्चन्द्र’ कै रूपमा स्थापित हुन आउँछ ।

‘आमा’ सिनेमाको प्रदर्शनको एकाध वर्षपछि, अर्थात् ०२३ सालमा नेपालको पहिलो निजी ब्यानरको सिनेमा पनि प्रदर्शनमा आयो । सुमन अन्जली फिल्म्स प्रालिले निर्माण गरेको ‘माइतीघर’ सिनेमा र यसका गीतहरू जस्तै, ‘नमान लाज...’, ‘यो हो मेरो प्राणभन्दा प्यारो...’, ‘काला कुर्तैले...’, ‘म प्यार बेचिदिन्छु...’ ले आजसम्म पनि नेपाली सिनेक्षेत्रमा आफ्नो विशिष्ट स्थानलाई कायम राख्न सकेका छन् ।

यथार्थवादी कथा प्रयोगको शुरुवात

सिनेमामा समाज र संस्कृति प्रतीत हुन्छ भन्ने बुझेर नै विसं ०२८ मा शाही नेपाली चलचित्र संस्थानको स्थापना भयो । आजका दिनमा प्रविधिले समय र लगानीलाई छोट्याइ दिएको छ, जसका कारण नेपाली सिनेमा बन्ने क्रम र संख्यामा कुनै कमी आउन बाधा देखिँदैन । तर, ५० वर्षअघिको समयमा प्रविधि, समय, लगानी, मानव संशाधन, तालिमप्राप्त प्राविधिक, सिनेमाबारे बहुआयामिक ज्ञान, तथा समयकै परिबन्धका कारण प्रदर्शनीजस्ता थुप्रै अड्चन कायम नै थिए । शाही नेपाल चलचित्र संस्थानले यिनै कुराहरूलाई मध्यनजर गर्दै सिनेमाको विकासका लागि पहल गर्दै गयो । संस्थानले आफ्नो कार्य सुचारु गरेलगत्तै ०३० मा जय रानाको ‘मनको बाँध’ सिनेमा प्रदर्शन गरियो । संस्थानले तत्पश्चात् ०३४ सालमा ‘कुमारी’ प्रदर्शन ग¥यो । ‘इस्टमेन कलर’ प्रविधिमा प्रदर्शन गरिएको ‘कुमारी’ पहिलो रंगीन नेपाली सिनेमा हो ।

cinema_2

नेपाल चलचित्र संस्थानले निर्माण र प्रदर्शन गरेका अन्य सिनेमा ‘सिन्दुर’ र ‘जीवन रेखा’ले ख्याति प्राप्त मात्र गरेनन्, बरु अन्य निजी कम्पनीलाई नेपालमा सिनेमा बनाउने उत्प्रेरणा प्रदान गर्दै गए । फलस्वरूप, ०३५ सालमा सिनेरोमा कम्पनीले कथाकार गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथालाई नै शीर्षक राखी सिनेमा निर्माण गर्‍यो । नेपाली सिनेमामा प्रयोगात्मक र यथार्थपरक कथालाई प्रस्तुत गर्ने क्रम ०४० सालसम्म निरन्तर रह्यो । जब, लक्ष्मीनाथ शर्माको ‘बदलिँदो आकाश’ प्रदर्शनमा आयो । तत्कालीन सिनेमा समीक्षक पुरुषोत्तम खरेलले ‘बदलिँदो आकाश’लाई ‘पूर्ण नेपाली सिनेमा’को संज्ञा दिए । जसअनुरूप यो सिनेमाले नेपालको पहिलो ‘अर्गानिक’ सिनेमाको नाम पायो ।नौला दिनहरू

२०४१ मा सरकार नेपाल टेलिभिजनले परियोजना शुरु ग¥यो । नेपालमा पहिलोपटक टेलिभिजन प्रसारण भएपछि घर–घरमा टेलिभिजनले प्रवेश पाउन थाल्यो । अनि सिनेमाको प्रदर्शनले ठूलो पर्दामा मात्र सीमित हुनु परेन । अवसरको विकासक्रमसँगै निर्माण पनि बढ्दै गए, र सोसँगै प्राविधिक, प्रदर्शक, सिनेमा घरको संख्या, र कलाकारहरू पनि । २०४० सालपछिको दशकलाई आज पनि सिनेमा समीक्षकहरू ‘सुनौलो दशक’ मान्ने गर्छन् । कलाकारहरू शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, तृप्ति नाडकर, नीरविक्रम शाह, हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै सरोज खनाल, कृष्टि मैनाली, कृष्ण मल्ल आदिले यो दशकलाई नेपाली सिनेमाको परिभाषा गरिदिने समयका रूपमा स्थापित गरिदिए ।

नेपाली सिनेमाको विकासमा कलात्मकता तथा सिर्जनशीलता देखाई उल्लेखनीय भूमिका निर्वाह गर्ने निर्देशकहरू प्रकाश थापा, तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मा, यादव खरेल, नीरविक्रम शाह, बीएस थापा, शम्भु प्रधान, उगेन छोपेल, चेतन कार्की, इत्यादिको नाम अग्रस्थानमा आउँछ । २०४२ सालमा प्रदर्शनमा आएको तुलसी घिमिरेको ‘कुसुमे रुमाल’ सिनेमा त्यो दशकको सबैभन्दा चर्चित सिनेमा बन्न पुग्यो । भुवन केसी र तृप्ति नाडकरका साथै गायक उदितनारायण झाले अभिनय गरेको ‘कुसुमे रुमाल’ सिनेमा नेपालमा सफलताको रजत जयन्ती मनाउने पहिलो सिनेमा बन्यो । त्यसैगरी नेपालमा पहिलो स्वर्ण जयन्ती मनाउने सिनेमा पनि तुलसी घिमिरेकै निर्देशनमा रह्यो । ०४७ सालमा बनेको ‘चिनो’ सिनेमा स्वर्ण जयन्ती मनाउने नेपालको पहिलो सिनेमा हो ।

२०४० पछिको दशकमा उदाएकी अभिनेत्री करिश्मा मानन्धरले चर्चाको शिखर चुम्दै गर्दा प्रवेश भयो, अभिनेता राजेश हमालको । हमालले नेपाली सिनेमामा अभिनयको नयाँ कोणमात्र प्रस्तुत गरेनन्, नेपाली सिनेमाका पत्रकार र समीक्षकहरूको आँखामा ‘महानायक’को उपाधि प्राप्त गर्न सफल भए । हमाल र करिश्मा मानन्धरको जोडी नेपाली सिनेमा क्षेत्रमा निकै लामो समयसम्म ‘गोल्डेन जोडी’को रूपमा स्थापित भयो । सन् ८० र ९० को दशकको पूर्वाद्र्धमा नेपालमा सिनेमा बन्ने क्रमले गति लिँदै गयो । ०५३ सालमा किशोर राणाको निर्देशन रहेको ‘राँको’ तत्कालीन हाई–डिफिनेसन अर्थात् सिनेमास्कोपमा खिचिएको पहिलो सिनेमा हो ।

अँध्यारो दशक

सन् १९९० को दशकको उत्तराद्र्धमा राजनीतिक अस्थिरताका कारण नेपालमा सिनेमा बन्ने गति अचानक नै कम हुँदै गयो र प्रत्यक्ष असर देखियो नेपाली सिनेक्षेत्रमा । नेपाली सिनेक्षेत्रका केही प्रतिभाशाली कलाकारहरूको विदेश पलायनले सिनेक्षेत्रमा कालो रात शुरु भयो । राजनीतिक अस्थिरता र सशस्त्र युद्धका कारण नेपाली सिनेमाको व्यवसायमा घात त पुग्यो नै तर सिनेमाहरूले नक्कल गरिएको, गुणस्तरमा कमी आएको, कलाकारहरूको अनुपस्थिति भएको, सरकारको ध्यान नपुगेको, तथा सिनेमा नीति–निर्माणमाथि प्रश्न चिह्न खडा भएको आरोपसम्म सहन गर्नुपर्‍यो । सिनेमाका नीतिहरूको निर्माण, दर्शक तथा सिनेमा निर्माताबीचको सेतु, सिनेमा वितरण तथा प्रदर्शनको मुख्य निर्णायक, सिनेमासम्बन्धी कुनै पनि आपराधिक क्रियाकलापको प्रहरी र यसका साथै सिनेमासँग आबद्ध कुनै पनि कलहमा न्यायिक भूमिका खेल्न ०४८ सालको चलचित्र नियमावली अन्तर्गत नेपालको सरकारले ०५७ सालमा चलचित्र विकास बोर्डको स्थापना गर्‍ यो ।

बोर्डको स्थापनालगत्तै ०५८ सालमा निर्देशक तुलसी घिमिरेको ‘दर्पण छाँया’ सिनेमाले सात करोडको व्यापार ग¥यो । ‘दर्पण छाँया’ को आम्दानीलाई हेर्दा यो सिनेमा मुद्रास्फीति समायोजन अनुपात अर्थात् ‘इन्फ्लेसन एड्जस्टमेन्ट ग्रस रेसियो’को आँकडामा नेपाली सिने इतिहासकै सबैभन्दा बढी मुनाफा कमाउने सिनेमा हो ।

चाँदीको घेरा

लोकतन्त्र उदयसँगै नेपाली सिने उद्योग डिजिटल प्रविधितिर पनि अग्रसर हुन थाल्यो । जसका कारण नेपाली सिनेमाले ‘नक्कल गरिएको’ आरोपबाट आफूलाई बिस्तारै पार गर्दै समसामयिक परिप्रेक्ष्य अर्थात् ‘अर्गानिक’ सिनेमाको निर्माणतिर जोड दिन थालियो । डिजिटल प्रविधिको पूर्वीक्षितिजमा भूषण दाहालको ‘कागबेनी’ सिनेमा उभियो । जसले प्रविधि र पटकथालाई जोड दिँदै नेपालमा मौलिक कथाहरूलाई नै खोज्नुपर्छ भन्ने भावनालाई पुनर्जागरण गरिदियो । ‘कागबेनी’ लगत्तै प्रदर्शनमा आएका नेपाली सिनेमाहरू जस्तै : ‘सानो संसार’, ‘मेरो एउटा साथी छ’, ‘फस्र्ट लभ’, ‘कोही मेरो’, इत्यादिले गुमेको नेपाली बजारलाई पुनस्र्थापना गर्नमा सहयोग पुर्‍याए । शहरी क्षेत्रमा बढ्दो भारतीय सिनेमाको हाबी, नेपाली सिनेमाप्रतिको गुमेको विश्वास, नेपाली प्रदर्शक तथा निर्माताहरूको बाध्यात्मक शिथिलता तथा नेपाली सिनेमा नीतिप्रति उदासीनता इत्यादिको बादललाई नाघ्दै गए, यी सिनेमाहरू । २०६९ सालमा मौलिक कथालाई पूर्ण शहरीकरण गर्दै युवापुस्ताको रुचि समेट्न सफल भयो, ‘लुट’ ।

पाश्चात्य कथाशैली, नाट्यमूलका कलाकार, ‘सडकी भाषा’को प्रयोग, इत्यादिका कारण ‘लुट’ले नेपालमा ख्यातिमात्र प्राप्त गरेन, बरु अनपेक्षित ‘अलग धार’ विचारलाई नै आगमन गराइदियो । यसलगत्तै दुई वर्षभित्र नै प्रदर्शनमा आएका ‘चपली हाइट’, ‘नाइँ नभन्नु ल २’, ‘कोहिनुर’, ‘पशुपतिप्रसाद’, ‘कालो पोथी’, ‘सेतो सूर्य’ ले नेपाली सिनेमाको दायरालाई फराकिलो बनाउँदै नयाँ निर्देशकहरू, नयाँ कलाकारहरू, नवीनतम् प्रविधि र प्रयोग, पृथक कथाशैली, तथा नेपाली सिनेमाको नयाँ स्वरूपको आगमन गर्दै छ ।

प्रविधिको विकास

नेपालमा सिनेमाको प्रविधि पनि सेल्युलोइडलाई विस्थापित गर्दै पूर्ण रूपमा डिजिटलतर्फ अग्रसर हुँदैछ । ००९ सालमा घुम्ती सिनेमाहरू नेपालमा प्रदर्शन हुन्थे । हातले स्कोप घुमाएर देखाइने सिनेमाहरूबाट बुर्कुसी मारेर आज एउटै सिनेमा घरभित्र तीन सय जनासम्म अटाएर हेर्न सकिन्छ । नेपाल चलचित्र विकास बोर्डको आँकडाअनुसार हाल नेपालमा निरन्तर सिनेमा हेर्ने दर्शकहरूको सङ्ख्या ६ लाख हाराहारीमा छ भने विदेशमा रहेका नेपालीहरूको संख्या जोड्दा १० लाखसम्म पुग्ने अनुमान छ । यसैगरी नेपाली सिनेमामा संलग्न भई आफ्नो कर्मक्षेत्र नै बनाई काम गरिरहेका नेपालीहरूको संख्या सात हजार छ । नेपाली साहित्यमा आधारित सिनेमा निर्माण गर्ने क्रम बढ्दो छ । ‘वसन्ती’, ‘प्रेमपिण्ड’, ‘मुनामदन’, ‘परालको आगो’, ‘झोला’, ‘सेतो बाघ’, ‘बसाइँ’, ‘शिरीषको फूल’, ‘तीन घुम्ती’ जस्ता सिनेमाले नेपाली साहित्यलाई काँचको पर्दामा उतारेका छन् । चाँडै ‘समर लभ’ जस्ता सिनेमा प्रदर्शन हुने क्रममा छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमा

संसारको सबैभन्दा ठूलो सिनेमा भूमि मानिने हलिउडको वार्षिक एकेडेमी अवार्ड अर्थात् ओस्कर्र्समा समेत नेपालले आफ्नो उपस्थिति जनाइरहेको छ । सन् १९९९ मा नेपालमा छायांकन गरिएको ‘क्याराभान’ सिनेमा ओस्कारका लागि दर्ता गरिएको थियो । तत्पश्चात् ‘मुकुन्डो’, ‘मुनामदन’, ‘बसाइँ’, ‘सुनगाभा’, ‘झोला’ र ‘टलकजंग भर्सेस टुल्के’ सिनेमा ओस्कारका लागि दर्ता गरिएका थिए । हालसम्म नेपाली सिनेमाले ओस्कार पुरस्कार हात पार्न नसके पनि नेपाली सिनेमाको गुणस्तर र कथाशैलीको आकलन गर्दा निकट भविष्यमा यसको सम्भावना देखिन्छ ।

आउँदा दिनहरू

नेपालमा अहिले सिनेमा बन्ने क्रममा कुनै कमी देखिएको छैन । औसतमा प्रत्येक वर्ष दुई सयभन्दा बढी सिनेमाहरूले निर्माण इजाजत लिएको देखिन्छ । करिब शतप्रतिशतले नै प्रदर्शन मिति तोकेको तथ्य चलचित्र विकास बोर्डसँग छ । नेपाली सिनेमाको प्रदर्शनी नेपालभित्र मात्र गरी निर्माण–लगानी उठाई मुनाफा कमाउने उचित वातावरण अहिले नबनिसकेको खण्डमा नेपाली सिनेमाले एउटा फरक मार्ग रोजेको छ, अन्तर्राष्ट्रियकरण । जसका कारण नेपाली सिनेकर्मीहरूको निर्माण रकम सुरक्षित मात्र भएको छैन, बरु नेपाली सिनेमाहरू विदेशमा प्रदर्शन गराइने वातावरण पनि बनेको छ । त्यसैगरी डिजिटल कपीको बिक्री, डीभीडी सर्वाधिकारको बिक्रीबाट सिनेमा निर्माताहरूले इन्टरनेट र घरमै बसी हेर्ने सुविधालाई पनि चौतर्फी विकास गरिरहेका छन् ।डिजिटाइजेसन हुने र अन्तर्राष्ट्रियकरण हुँदै जाने हो भने नेपाली सिनेमा र सिनेमाकर्मीहरूको तह पनि विस्तारै बढ्दै जाने निश्चित छ । उनीहरूको माग र प्रशंसकहरूको संख्या बढ्दै जाने हो भने आनुपातिक रूपमा नेपाली सिनेमा समग्रकै ओहोदा अन्तर्राष्ट्रियस्तरमा बढ्दै जाने देखिन्छ ।


पहिलो सिनेमा

First-Nepali-Film

इस्टर्न टकिज स्टुडियो कोलकातामा सिनेमा ‘सत्य हरिश्चन्द्र’को छायांकन हेर्न सपरिवार कलकत्ता पुगेका स्वर्गीय साहित्यकार बालकृष्ण सम (मध्य) । सबैभन्दा बायाँमा बसेका सिनेमाका लेखक तथा निर्देशक डीबी परियार । तस्बिरहरू : विकास रौनियार

२०१७ सालमा राजा महेन्द्रले पञ्चायत व्यवस्था लागू गरे । व्यवस्थालाई टिकाउन पञ्चायतले सिनेमा र मनोरञ्जनको सहायता लियो । सूचना विभागले ०२२ सालमा ‘आमा’ सिनेमा निर्माण ग¥यो । हीरासिंह खत्रीद्वारा निर्देशित यो सिनेमा नेपालमै निर्माण गरिएको पहिलो सिनेमा थियो । शिवशंकर र भुवन चन्द नेपालको पहिलो ‘हिरो–हिरोइन’ बने । तर, नेपाली भाषामा भने ००७ सालमा भारतको कोलकातामा दिव्यचन्द्र विक्रम परियार (डीबी परियार) को निर्देशनमा ‘सत्य हरिश्चन्द्र’ निर्माण गरिएको थियो । भारतीय प्राविधिकहरूको वर्चश्व, कोलकाताको रूपश्री स्टुडियो र इस्टर्न टकिज स्टुडियोमा गरिएको छायांकन, सुप्रसिद्ध भारतीय सिनेमा निर्देशक दादासाहेब फाल्केले १९७० सालमा निर्देशन गरेको उस्तै–उस्तै नामको सिनेमा ‘राजा हरिश्चन्द्र’ लाई नेपालीमा स्वरांकन गरी पुनःप्रदर्शन गरिएको भनेर चर्चा पनि भएको पाइन्छ ।

नेपाली भाषाको सिनेमा ‘सत्य हरिश्चन्द्र’ लाई भारतको विहारमा प्रदर्शन गर्दा निर्देशक परियारको नामको साटो उनको उपनाम ‘संगरथि’ पोस्टरमा छापिएका कारण पनि विवाद सिर्जना भई ‘सत्य हरिश्चन्द्र’ नेपाली सिनेमा नै होइन भन्ने गलत धारणा हालसम्म पनि विदित नै छ । तर, परियार काठमाडौंको दमाई टोलमा जन्मिएका र बाआमासँगै दार्जिलिङ गएका थिए । यो सिनेमामा कालिम्पोङकी पासाङ ल्हामु तामाङ अभिनेत्री थिइन् । जसमा अधिकतम कलाकार र प्राविधिक भारतीय भए पनि निर्देशक, अभिनेत्रीलगायत अन्य नेपाली पनि संलग्न भएको तथ्य भेट्न सकिन्छ ।

२२ असोज २००७ मा छायांकन शुरु भएको ‘सत्य हरिश्चन्द्र’ इस्टर्न टकिजमा खिचिँदै छ भन्ने खबर सुनेर सपरिवार कोलकाता पुगेका साहित्यकार बालकृष्ण समले सिनेमाको टोलीसँग एउटा फोटो खिचाएका थिए । उनले ०३८ सालमा साझा प्रकाशनद्वारा प्रकाशित ‘चलचित्रकला’ पुस्तकमा ‘सत्य हरिश्चन्द्र’को एक दृश्यमा छायांकारले भूलवश परपर रेल गुडिरहेको दृश्य कैद गरेको उल्लेख गरेका छन् । यसबाट ‘सत्य हरिश्चन्द्र’ नेपाली भाषाको पहिलो सिनेमा हो भन्ने पुष्टि हुन्छ ।

‘सत्य हरिश्चन्द्र’ होस् वा ‘आमा’ यी दुवै सिनेमा भारतीय प्राविधिकको सहयोगमा निर्माण गरिएका थिए । प्रदर्शनको मितिका हिसाबले हेर्दा ‘सत्य हरिश्चन्द्र’ नेपाली भाषाको पहिलो सिनेमा हो भने त्योभन्दा १५ वर्षपछि प्रदर्शनमा आएको ‘आमा’ नेपालमा बनेको पहिलो सिनेमा हो ।


‘लुट’ले पछ्याएको शैली

loot-nepali-hit-movie-2012

२०६९ को सुपरहिट सिनेमा ‘लुट’ ले वाहवाही र गाली दुवै बटुल्यो । कसैले ‘छिछि–दूरदूर’ गरे, त कसैले ‘बल्ल स्वादिलो सिनेमा बन्यो’ भने । ‘लुट’ विवाद र ‘प्रशंसा’ले घेरियो । प्राविधिक रूपबाट त्रुटि देखाउनेहरू एकातिर थिए भने अभिनय र निर्देशकीय कौशलको तारिफ गर्ने अर्कातिर । दर्शकको माया र गालीबीच ‘लुट’ ले ऐतिहासिक सिनेमा बन्ने मौका पायो । निश्चल बस्नेतलाई डेब्यू निर्देशन नै फलिफाप भयो । के ‘लुट’ ले कुनै जादु गरेको हो ? कि पृथकताको नयाँ आयाम देखाएको हो ? के ‘लुट’ प्रयोगात्मक सिनेमाहरूको अग्रज हो ? कि यो सिनेमामा विशिष्ट कथा ल्याइएको हो ? यी सबै प्रश्नका सर्टीक उत्तर छैनन् । किनकि ‘लुट’ ले यस्तो कुनै पनि काम गरेको होइन । जुनअघि प्रदर्शनमा आएका नेपाली सिनेमामा गरिएका थिएनन् ।

सहज उत्तर छ ‘लुट’ ले नेपालीको स्पन्दन थाहा पायो र त्यहीँ ‘हावा’ दियो जहाँ नेपाली सिनेमालाई पुनर्जीवनको सास चाहिएको थियो । अर्थात् ‘लुट’ ले नेपालीको कथा भन्यो । हो, प्राविधिक त्रुटि धेरै छन्, यो सिनेमामा । तर सिनेमा प्रविधिले बन्ने होइन, कथाले बन्ने हो भन्ने तगडा जवाफ दियो ‘लुट’ ले । सिनेमा अर्काको नक्कल गरेर होइन, आफ्नो गल्ली र गाउँको चित्रण गरेर बन्छ भन्ने आत्मानुभूति गराइदियो र सिनेमा तडक–भडक र देखावटी होइन, सहज तर सर्टीक हुनुपर्छ भन्ने ज्ञानको तेस्रो आँखा खोलिदियो ‘लुट’ले । नेपाली सिनेमा वृत्तमा ‘लुट’भन्दा असल सिनेमाहरू छन् । पहिले पनि थिए, आगामी दिनमा पनि बन्नेछन् । तर, जुन मौलिकताको अनुभूति नेपाली सिनेमा वृत्तबाट गुमेको थियो । त्यो मन्दहृदय गतिलाई करेन्ट दिएर जगाइदियो ‘लुट’ ले । ठीक समयमा, ठीक प्रयोग गरिएको ‘लुट’ को महत्व यही नै हो । आगामी युगको आगमनको शंखनाद गर्ने सिनेमा ।

महानायक हमाल

rajesh-_1

नेपाली सिनेमा ५० भन्दा बढी ठूला–साना पात्रहरूबाट योगदान गरेका अभिनेता राजेश हमालले ‘महानायक’ उपाधि पाएका छन् । रंग पत्रकार होस् वा दर्शकले हमालको उपाधि अंगीकार गरेकै छन् । तर, समीक्षक, हमालका सहकर्मी, सिने पारखीहरू र जानकारहरू उपाधिसँग असहमत हुँदै आपत्ति जनाउँछन् । किन त ? अनौपचारिक रूपमा उनलाई दिइएको यो नाममाथि प्रश्न उठ्नु स्वभाविक नै होला, तर हमालको योगदानलाई हेरेर सर्वमान्य उपाधिमाथि प्रश्न उठ्नु भने स्वभाविक छैन । १० वर्षे सशस्त्र द्वन्द्वको ६ वर्षअघि हमाल सिनेमा क्षेत्रमा प्रवेश गरे । १० वर्षे युद्ध र त्यसपछिको अर्को दशकसम्म हमालले एकलौटि नेपाली सिनेमा धाने । हमालले अभिनय गरेका सिनेमाले निर्माता र दर्शकलाई निरास बनाएन । अभिनयले मात्र होइन, अभिनेताको सामाजिक छविले पनि नायक बन्दछ, भन्ने मिथक पनि बने हमाल । पर्दाभित्र र बाहिरबाट नेपाली सिनेमा वृत्तलाई नियाल्दा पनि हमाल ‘महानायक’ नै हुन् ।

 याे पनि पढ्नुस ।

सिनेमामा माैलिकता चाहियाे : मनिषा काेइराला

 

प्रतिकृया दिनुहोस