MENU

आवरण

635x90

युवापुस्ता पोर्नोग्राफीमा व्यस्त

किरण दहाल सोमवार, श्रावण २३, २०७४

ललितपुर सानेपाकी २३ वर्षीया रोशनी स्थापित (नाम परिवर्तन) घरमै लुकेर ‘पोर्न मुभी’ हेर्छिन् । साथीसँग यौनका विषयमा खुलेरै कुरा पनि गर्छिन् । तर, ‘पोर्न मुभी’ हेर्न भने उनलाई घरमै एकान्त चाहिन्छ । अनि, इन्टरनेटमै हेर्छिन् । उनको ल्यापटप र मोबाइलमा भने त्यस्ता सामग्री भेटिँदैनन् । भन्छिन्, ‘घरमा एउटा मात्र ल्यापटप छ । बुवा र भाइबैनीले पनि चलाउँछन् । यस्ता सामग्री कसरी संकलन गरेर राख्नु ?’ काठमाडौं पुतलीसडककी सविना श्रेष्ठ (नाम परिवर्तन) ले कक्षा ९ मा पढ्दा पहिलो पटक पोर्न मुभी हेरेकी थिइन् । स्कुल छुट्टीपछि घर फर्किँदै गर्दा केटी साथीले नै पोर्न मुभीबारे जानकारी दिइन् । उनलाई पनि हेर्न मन लाग्यो ।

कुरा भएको करिब दुई सातापछि साथीकै घरमा पढ्न जाँदा साथीकै मोबाइलमा इन्टरनेट खोलेर पोर्नाेग्राफी हेरिन् । भन्छिन्, ‘शुरुमा हेर्न लाज लाग्यो । बन्द गर भन्दै गाली गरेँ । तर, मनमा भने हेरौँ हेराैँ लागिरहेको थियो । पछि त मज्जाले हेरिदिएँ ।’सन्दिप खड्का (२१) भने मोबाइलमै ‘पोर्न मुभी’लगायत यौनजन्य सामग्री राख्छन् । नुवाकोट स्थायी घर भई हाल कालीमाटी बस्दै आएका उनको मोबाइलमा ‘पोर्न मुभी एप’ नै छन् । यस्ता सामग्री राख्नुलाई उनी आश्चर्य मान्दैनन् । ‘मोबाइलमा लुकाएर राख्नुपर्छ ।

परिवारसँगै बस्ने भएकाले डर भने लाग्छ,’ उनले डरमिश्रित प्रतिक्रिया दिए । खड्काले ६ कक्षा पढ्दा पहिलो पटक यस्ता सामग्री हेरेका थिए । दाइ (ठूलोबाका छोरा) को मोबाइलमा गीत बजिरहेकै बेला हेर्ने अवसर जुरेको थियो, उनलाई । स्थापित, श्रेष्ठ र खड्का ‘पोर्न मुभी’ हेर्ने युवा पुस्ताका प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश नेपाली युवायुवती ‘ग्याजेट’मा होस् वा इन्टरनेटमा यौनजन्य सामग्री हेर्छन् । पोर्नाेग्राफी हेर्नेको संख्या त विश्वभरि बढ्दो छ । इन्टरनेटले यस्ता सामग्रीमा अझ सहज पहुँच बढाउँदै लगेको छ ।

हेर्नेमा युवा बढी

विश्वको चर्चित यौन साइट ‘पोर्नहब’ हरेक सेकेन्डमा सात सय २९ जनाले हेर्ने गरेको सन् २०१६ मा प्रकाशित वेभसाइटको अध्ययनले देखाएको छ । यो तथ्यांकलाई आधार मान्दा एक मिनटमा करिब ४४ हजार र हरेक घण्टा सवा २६ लाखले उक्त साइट हेर्छन् । २४ घण्टामा साढे ६ करोड मानिसले यो साइट हेर्ने गरेका छन् । एउटा साइट यति ठूलो संख्याले हेर्छन् भने अन्य चर्चित पोर्न साइट हेर्नेको संख्या झन कति होला ? यसबाट के भन्न सकिन्छ भने विश्व जनसंख्याको ठूलो हिस्सा पोर्न साइट हेर्नमा व्यस्त रहेको छ ।

पोर्नहब हेर्नेमा १८–२४ वर्षका सबैभन्दा बढी ३१ प्रतिशत छन् । त्यसपछि २५–३४ वर्ष समूहका २९, ३५–४४ का १७, ४५–५४ का ११, ५५–६४ का ७ र ६५ देखि माथिका ४ प्रतिशतले यो साइट भिजिट गरेको देखिन्छ । उमेर समूहलाई विश्लेषण गर्दा युवापुस्ता नै पोर्नोग्राफीको लतमा भएको पाइन्छ । पोर्नहब खोलिने मुलुकको सूचीमा विश्वका विकशित देशहरू अमेरिका, बेलायत, क्यानडा, जापान नै अगाडि रहेका छन् । विश्वभरिका वेभसाइटहरूको तथ्यांक विश्लेषण गर्ने ‘टपटेन रिभ्यू’ नामक वेभसाइटको पोर्नाेग्राफी स्टाटिक्सका अनुसार प्रत्येक महिना ७२ मिलियन इन्टरनेट प्रयोगकर्ताहरूले पोर्न साइटहरू हेर्ने गरेका छन् ।

यस्तै, विश्वभरि ४२ दशमलव सात प्रतिशत इन्टरनेट प्रयोगकर्ताले पोर्नाेग्राफी हेर्छन् । २८ हजार दुई सय ५८ जनाले प्रत्यक सेकेन्ड पोर्न मुभी हेर्ने गरेको तथ्यांकमा उल्लेख छ ।पोर्नाेग्राफी स्टाटिक्सले भनेको छ, ‘मानिसहरूले प्रत्येक सेकेन्ड तीन हजार ७५ दशमलव ६४ डलर पोर्नाेग्राफी हेर्नमा खर्च गर्छन् । युवापुस्ता पोर्नाेग्राफीको लतमा रहँदा उनीहरूको पढाइमात्र नभई महत्‍वपूर्ण समय र पैसासमेत नास हुने गरेको छ ।’

मारमा महिला

अमेरिकाकी महिलावादी लेखिका आन्द्रिया दोर्किन त पोर्नाेग्राफीमार्फ्त महिलाहरूलाई शोषण नै गरिएको ठान्छिन् । महिलाहरूको मुख्य कमजोरी नै पीडालाई सामान्य रूपमा लिनु रहेको उनले बताएकी छन् । ‘पुरुषहरूले यौनमार्फत् महिलाहरूलाइ चोट पुर्‍याइरहेका छन् । पुरुषहरूले यौन आनन्दका लागि महिलाहरूको इच्छाविपरीत प्रयोग गरिरहेका छन्,’ उनले ६ मार्च २००६ मा ‘युर्निभर्सिटी अफ सिकागो ल’ भाषण गर्दै भनेकी थिइन, ‘महिलाहरूले आफूलाइ कमजोर रूपमा प्रस्तुत गरिरहेका छन् । महिलाले आफूलाइ स्वतन्त्र नै महसुस गरेका छैनन् ।’

विश्वमा हरेक २४ घण्टामा साढे ६ करोड मानिसले सेक्स साइट ‘पोर्नहब’ हेर्छन्।

न्युयोर्क टाइम्समा केही समयअघि प्रकाशित गरेको ‘पोर्नाेग्राफीको लत’ शीर्षकको समाचारमा गेल डिनेस र रोबर्ट जोनसनले भनेका छन्, ‘पुरुषहरू जो पोर्नाेग्राफीको लतमा लागेका छन् उनीहरूले कहिलेकाहीँ महिला साथीहरूसँगको आत्मीय सम्बन्ध नै बिर्सेर यौन कार्यमा सहभागी हुन आग्रह गर्छन् । जसले महिलाहरूलाई अप्ठ्यारोमा पार्छ । यस्ताखाले क्रियाकलापले जोसुकैसँग सम्बन्ध बिगार्ने गर्छ । पुरुषहरू यस्ता कुराप्रति सचेत हुन्छन्, तर पनि रोकिन सक्दैनन् ।’ पोर्नाेग्राफीको असर यतिमात्रै होइन ।

टेनिथ केरीले ‘दी गार्जियन’मा ‘किन धेरैभन्दा धेरै महिलाहरूले पोर्नाेग्राफी प्रयोग गरिरहेका छन् ?’ भन्ने शीर्षकको लेख लेख्दै नियमित पोर्नाेग्राफी हेर्ने महिलाहरूमा डिप्रेसन हुने, रमाउन नसक्ने अवस्था देखिने बताएकी छन् । उनले लेखेकी छन्, ‘यस्तो किन हुन्छ भने महिलाहरूलाई यौनको साधनमात्र बनाइएको छ भन्ने विचारले उनीहरूलाई पोर्नाेग्राफीमा रमाउन दिँदैन । पोर्नले मान्छेको शरीरदेखि मनोविज्ञानसम्म असर गर्छ । महिलाहरूमा पोर्नप्रति आशक्ति नभए पनि हेर्न भने खोजिरहेका हुन्छन् । मनोवैज्ञानिक रूपमा घृणा गर्नु तर शारिरीक रूपमा हेर्न खोज्नुजस्तो द्वैध चरित्र निराशाजनक छ ।’

खाँचो नियन्त्रणको

नेपाली समाज खुला नभएकाले पोर्नोग्राफी पनि सर्वग्राहय भइसकेको छैन । लुकिछिपी हेर्ने युवायुवतीको कुलतजस्तो बनिरहेको छ । राज्यको कमजोर नीतिले पनि पोर्नाेग्राफी हेर्ने युवाको संख्या बढ्ने बताउँछन्, काठमाडौंको रत्नराज्य क्याम्पसका समाजशास्त्रका अध्यापक, डम्बर हमाल । उनी पोर्नोग्राफी हेर्ने लतमाथि समाजले समयमै नियन्त्रण गर्नुपर्नेमा जोड दिन्छन् । उनको सुझाव छ, ‘पोर्नाेग्राफीको लत लागेकाहरू परिवारसँगै समाजबाट पनि टाढा हुन्छन् । पढाइ बिग्रदै गएर उनीहरूको जिन्दगीमै यसले नकारात्मक प्रभाव पार्छ । त्यसैले यतातिर राज्यले बेलैमा ध्यान दिनुपर्छ ।’

पोर्नाेग्राफीले तत्कालीन र दीर्घकालीन दुवै रूपमा नकारात्मक असर गर्ने बताउँछिन्, मनोविद् करुणा कुँवर । दैनिक क्रियाकलापमा असर पर्नुका साथै सम्बन्धमा पनि ह्रास आउने उनको भनाइ छ । ‘इन्टरनेटमा सजिलै उपलब्ध हुने, जतिबेला पनि हेर्न सकिने भएकाले निद्रामा कमी आउने, खानाको समय नमिलेर स्वास्थ्यलगायत क्षेत्रमा समस्या देखापर्छ,’ उनले भनिन्, ‘व्यवहारिक रूपमा पनि पोर्नाेग्राफीमा देखाइएजस्तै यौन क्रियाकलाप खोजिने भएकाले सम्बन्धमै पनि अप्ठ्यारो आउँछ ।’

उनको सम्पर्कमा आएकामध्ये १३/१४ वर्षको उमेरदेखि नै नेपालीले पोर्नाेग्राफी हेर्न थालेका छन् । १८ वर्षभन्दा मुनिकाले पोर्नाेग्राफी हेर्नै नहुने उनको तर्क छ । ‘यौनिक क्रियाकलाप कस्तो हुन्छ भनेर १८ वर्षभन्दा माथिकाहरूले वर्षमा एउटासम्म भए पनि हेर्छन्, त्यसले खासै असर त गर्दैन, तर १८ वर्ष भन्दा मुनिकाले भने नहेरेकै ठीक,’ उनी भन्छिन्, ‘दैनिक २/३ वटा पोर्न मुभी हेर्नु त एडिक्सन नै हो ।’ यस्ताखाले साइट हेरेर समय बर्बाद गर्नुभन्दा विद्यार्थीहरूले आफ्नो भविष्य बनाउनतिर लाग्नुपर्ने अध्यापक हमालको सुझाव छ । ‘म त पोर्नाेग्राफीको विरोध गर्छु । बरु मान्छेहरूले चल्दै आएको जिन्दगी बिताउनुपर्छ,’ हमाल भन्छन्, ‘महिला र पुरुषको प्राकृतिक सम्बन्धलाई नै अगाडि बढाउने हो भने पोर्नाेग्राफीको लत स्वतः घट्दै जान्छ ।’

 

प्रतिकृया दिनुहोस