MENU

आवरण

635x90

कसरी भयो मधेशी मिलाप ?

नवीन झा आइतवार, बैशाख १७, २०७४

६ वैशाख, अबेर राति मधेशी मोर्चाका पाँच अध्यक्ष (तमलोपा–महन्थ ठाकुर, सद्भावना–राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टी– शरत्सिंह भण्डारी, तराई मधेश सद्भावना पार्टी– महेन्द्र यादव, फोरम गणतान्त्रिक–राजकिशोर यादव)ले एउटै पार्टी बनाउने निर्णय गरे । र, ७ वैशाखमा घोषणाको कार्यक्रम तय गरियो ।

७ वैशाख बिहानैदेखि पाँच अध्यक्षहरूले नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई पनि नवोदित पार्टीमा मिसिन आग्रह गरे । तर, झाले तत्कालका लागि उक्त एकीकरणमा सहभागी नहुने जवाफ फर्काए ।

घोषणा कार्यक्रम निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भयो । पाँचै जना अध्यक्षले कार्यक्रममा बोले । पुछारमा तमलोपाका ठाकुर बोल्दै थिए । त्यही बेला झा टुप्लुक्क सभास्थल झुल्किए । हृदयेश त्रिपाठी र वृशेषचन्द्रलालले उनलाई मञ्चमा डोर्‍याएर लगे भने राजकिशोर यादवले फूलमाला लगाइदिए । केही घण्टाअघि एकीकरणमा तत्काल सामेल नहुने अडानमा रहेका झा किन एकाएक फेरिए ? नेपाल सद्भावना पार्टीका महासचिव राजीव झा भन्छन्, ‘आम मधेशी जनता र कार्यकर्ताको दबाब थेग्न नसकेपछि एकीकरणमा सहभागी भयौँ ।’

तर, स्रोतको दाबी छ, झाले लैनचौरको सल्लाह र दबाबका कारण अन्तिम समयमा एकीकरण प्रक्रियामा सामेल भएका थिए । ७ वैशाख बिहानै झा लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । दूतावासका अधिकारीसँग उनले एकीकरणमा बिस्तारै सहभागी होउला भनेर आफ्नो धारणा सुनाएका थिए । जवाफमा ती अधिकारीले ‘आफ्नो राजनीतिक भविष्य हेरेर जे निर्णय लिँदा पनि हुन्छ’ भनेपछि फर्किएका झा अन्ततः एकीकरण प्रक्रियामा सामेल हुन ढिलोगरी कार्यक्रमस्थल पुगेका थिए । स्रोत भन्छ, राजनीतिक भविष्यनै जोखिममा पर्ने देखेपछि झा त्यसै दिन एकीकरणमा सामेल भएका हुन् । उनीनिकट राजीव झा भन्छन्, ‘अढाइ दशक लामो सद्भावनाको इतिहास समाप्त हुने गरी हामी एकीकरणमा सहभागी भयौँ ।’

भारतीय चासो

६ वटा मधेशी दल मिलेर ‘राष्ट्रिय जनता पार्टी’ गठन हुनुका पछाडि केही महत्वपूर्ण कारण छन् । जसमध्ये पहिलो हो, हालै पारित राजनीतिक दलसम्बन्धी कानुन । जुन कानुनले राष्ट्रिय मान्यताप्राप्त दल हुनका लागि निर्वाचनमा खसेको मतको न्यूनतम तीन प्रतिशत मत सम्बन्धित पार्टीले पाउनैपर्ने सीमा कोरिदियो । अर्थात् तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्थाले साना र विभाजित रूपमा रहेका दलहरू मिल्न उत्प्रेरित भए । मधेशी दलहरूबीचको एकीकरणको एउटा कारण यही थ्रेसहोल्ड हो । राजपाका नेता वृषेशचन्द्र लाल भन्छन, ‘मधेशी पार्टीहरूको एकीकरणमा थ्रेहोल्डको भूमिका महŒवपुर्ण सावित भयो ।’

९ चैत ०७३ मा संसद्ले थ्रेसहोल्ड पारित गरिरहँदा मोर्चाका केही शीर्ष नेता तमलोपाको पार्टी कार्यलयमा अनौपचारिक छलफलमा थिए । थ्रेसहोल्डसम्बन्धी समाचार सुनेपछि एक अध्यक्षले भने, अब हामीहरू नमिली सुखै छैन । तमलोपा अध्यक्ष ठाकुरले थपे, ‘अधिकारको लडाइँमा पनि मधेशीहरू एक हुँदा सजिलो हुन्छ ।’ पहिलो संविधानसभामा बलियो उपस्थिति भएका मधेशी दल दोस्रो संविधानसभासम्म आइपुग्दा पटक–पटक विभाजित र कमजोर भइसकेका थिए । अहिले मिलेका ६ दलको संसद्मा २५ सिट छ ।

यीबाहेक अब मधेशमा उपेन्द्र यादव नेतृत्वको फोरम छ भने विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक छ । जसको संसद्मा क्रमशः १४ र १७ सिट छ । दोस्रो, मधेशी दलहरू मधेशमै आलोचित हँुदै थिए । सत्ता राजनीतिलाइ बढी प्राथामिकता दिने मधेशी दलहरू सत्ताकै लागि भनेर पटक–पटक विभाजित भएका छन् । धेरै समूहमा बाँडिएका मधेशी दलप्रति जनस्तरमा गतिलो छाप थिएन र यी पार्टीहरू एक हुनुपर्छ भन्ने धारणा धेरै मधेशीहरूमा थियो । मधेशी बुद्धिजीवी, लेखक, एक्टीभिस्टहरूले पनि मधेशी दलहरू एकीकरण हुनुपर्छ भन्ने धारणा राख्दै आएका थिए ।

त्यो दबाबले पनि यी दलहरू एक हुन सहायक भएको छ । तेस्रो, मधेशी दलहरूको उपस्थिति कमजोर हुँदै जानु । संविधान जारी गरेपछि मधेशी दलहरू असन्तुष्ट भएर आन्दोलनमा उत्रिए । भारतले नाकाबन्दी लगाउने अवस्थासम्म आयो । तर, त्यसले मधेशी दलहरूको मुद्दा सम्बोधित भएन । त्यसकारण मधेशी दलहरूले गर्ने आन्दोलन पनि कमजोर हुँदै गयो । आन्दोलन कमजोर र कम प्रभावकारी हुँदै गएपछि नेताहरूमा एकीकरणको भाव जन्मिएको विश्लेषकहरू दाबी गर्छन् ।

चौथो महत्वपूर्ण कारण हो, भारतीय रुचि । भारतले नेपाली राजनीतिमा मधेशलाई एउटा ‘कार्ड’का रूपमा प्रयोग गर्दै आएको छ । त्यो पटक–पटक सतहमा प्रतिबिम्बित भएको छ । हुन त, नेपाली राजनीतिमा अरू राष्ट्रिय र ठूला दलहरूमा पनि भारतीय प्रभाव नभएको होइन । कतिसम्म भने, अहिलेको पुष्पकमल दाहाल गठबन्धनसमेत भारतकै चासोमा बनेको भनिन्छ । तथापि भारत नेपालमा बलियो ‘प्रो इन्डियन’ पार्टी निर्माण गर्न चाहन्छ, जहाँ उसको प्रभाव अधिक होस् । ‘मधेशी दलहरूबीच एकता हुने हो भने त्यस्तो दल बन्न सक्ने भारतीय अधिकारीहरूको ठम्याइ रहेकैले यो एकीकरणलाई उनीहरूले पनि सहयोग गरे,’ एक मधेशी नेता भन्छन्, ‘एकीकरण प्रक्रिया चल्दै गर्दा थुप्रै पटक भारतीय दूतावासका अधिकारीहरूसँग छलफल भएपछि यसले मूर्त रूप लिएको हो ।

’स्रोतका अनुसार पछिल्लो एक/डेढ महिना एकीकरण प्रक्रियाले रफ्तार पक्रिएको थियो । पूर्वभारतीय राजदूत रणजीत राय गएको र नयाँ राजदूत पुरी नआइसकेकाले यसक्रममा डीसीएम विनयकुमारको सक्रियता बढी थियो । मधेशी दलहरूलाई एकीकरणका लागि उत्प्रेरणाको काम उनैले गरे । ‘भारतका नेता, ब्युरोक्रेट्स सबैले तिमीहरू एक नहुँदा आन्दोलन पनि कमजोर भयो र प्रभाव पनि त्यसैले सबै एकै ठाउँ आउनुको विकल्प छैन भनेर पटक–पटक सुझाएका थिए,’ ती नेता भन्छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल आउँदा मधेशी नेताहरूसँगको भेटघाटमा ‘आपलोग एक हो जाइए’ भनेकै हुन् ।’

मलेठपछि बढेको सक्रियता

मोदीले मात्रै होइन, मधेशी नेताहरू स्वयं दोस्रो संविधानसभाको पराजयपछि बेलाबखत सबै एक ठाउँमा आउनुपर्ने कुरा गर्थे । नेताहरूको व्यक्तिगत ‘इगो’ र प्रतिष्ठाका कारण कतिपय बेला एकीकरणका प्रयास भए पनि ती बीचमै तुहिन्थे । यसपटक एमालेसँग सप्तरीमा भएको भिडन्तपछि फेरि मधेशी दलहरू एक हुनुपर्ने सोचाइमा पुगे । सप्तरी भिडन्तका क्रममा मारिएका परिवारको शोकसभा मलेठमा हुँदै गर्दा यी दलबीच एकीकरणको कुरा पुनः उठेको थियो । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव भन्छन्, ‘मलेठ शोकसभालाई हामीले एकीकरण अभ्यास बढाउने माध्यमका रूपमा उपयोग ग¥यौँ र त्यहाँ मधेशी दलबीच एकीकरण गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइयो ।’

उनका अनुसार, उनीलगायत महेन्द्र यादव, शरत्सिंह भण्डारीले एकीकरण गरेर पार्टी बलियो बनाउने छलफल यसअघि नै गर्न थालिसकेका थिए । ‘हामी तीनै जनाबीच चैतको पहिलो साता नै एकीकरणको बारेमा आन्त्रिक सहमति भइसकेकै थियो,’ राजकिशोर भन्छन्, ‘मलेठ यसलाई थप अघि बढाउने रणनीतिक थलो थियो । हामीले उपयोग गर्‍यौँ ।’ मलेठ जानुअघि १२ चैतमा तीन नेताले बर्दिबासमा एकीकरणको मुद्दा अघि बढाउने छलफल पनि गरेका थिए । मलेठ शोक सभापछि १५ चैतमा पुनः बर्दिबासमा मधेशी मोर्चाका शीर्ष नेताहरूको बैठक बस्यो । १७ चैतमा राजकिशोर नयाँदिल्ली उडे भने अरू नेताहरू एकीकरण अभ्यासमा सक्रियतापूर्वक जुटे ।

सधैं आपसी मतभेदमा रुमल्लिएको मधेश राजनीतिमा मधेशी मोर्चासम्बद्घ ६ पार्टीको एकीकरणले नयाँ तरंग पैदा गरेको छ। कसरी सम्भव भयो यो एकीकरण ?

रामनरेश राय, केशव झा, सीपी सिंहसहित दोस्रो तहका नेताहरू सक्रिय देखिए । त्यस्तै लक्ष्मणलाल कर्ण, अनिल महासेठ, हृदयेश त्रिपाठी विशेषचन्द्रलाल आदिको सक्रियता पनि बढेको थियो । भैसेपाटीस्थित सांसद निर्जला राउतको घरमा मधेशी मोर्चाका नेताहरूको अनौपचारिक छलफल पटक–पटक भयो । २४ चैतमा भएको बैठकको भोलिपल्ट २५ चैतमा नयाँ भारतीय राजदूतसँगको परिचयात्मक कार्यक्रम थियो । उक्त परिचयात्मक कार्यक्रम तथा लन्च मिटिङमा एकीकरणको प्रसंग पनि उठेको एक सहभागी नेता बताउँछन् ।

‘भारतीय राजदूतले त्यसको भोलिपल्टै बिहान पुनः मधेशी अध्यक्षहरूलाई ब्रेकफास्ट बैठकका लागि डाके,’ ती नेता भन्छन्, ‘२६ चैतको उक्त ब्रेकफास्ट बैठकपछि यो प्रक्रियामा सद्भावना र तमलोपा सहभागी हुन पुगे ।’त्यसपछि २७ र २८ चैतमा राजेन्द्र महतोसमेतको सहभागितामा एकीकरणका लागि शीर्ष तहको बैठक बस्यो । त्यसपछि ३० चैतमा पुनः मधेशी अध्यक्षहरू र भारतीय राजदूतको डिनर बैठक भयो । त्यसपछि २ वैशाखमा राजेन्द्र महतोको घरमा एकीकरणका लागि पुनः बसेको बैठकले एकीकरणको घोषणाको तयारी नै थाल्ने निष्कर्ष निकाले । ३ वैशाखको बिहान र बेलुका गरी दुई चरणमा सांसद निर्जला राउतको भैसेपाटीस्थित घरमा पुनः नेताहरूले बैठक गरे ।

जुन बैठकले चार सदस्यीय कार्यदल गठन गर्‍यो । केशव झा, रामनरेश राय, सीपी सिंह र मनीष सुमन सम्मिलित चार सदस्यीय कार्यदललाई ४ वैशाखमा नै एकीकरणको सम्पूर्ण खाका बनाउन निर्देशन गरे । ४ वैशाखको साँझ पुनः राउतकै भैसेपाटीस्थित घरमा बैठक तय भएको थियो । तर, उक्त बैठकअगावै राजेन्द्र महतोले त्यही दिन थारू अगुवा राजकुमार लेखीसँग एकीकरण गरेपछि उक्त बैठकमा नेताहरूबीच भनाभन भएको थियो । बृहद् एकीकरण घोषणाको तयारी चलिरहँदा महतोले लेखीसँग गरेको एकीकरणलाई नियतसँग जोडेर प्रश्न उठाएका थिए ।

पछिल्लो समय विकसित समहतीय वातावरण धुमिलिन थालेपछि त्यो तनाब कम गर्न भारतीय दूतावास पुनः सक्रिय भएको थियो । स्रोतका अनुसार, नेपालस्थित भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख विवेक जुहारीले सबै अध्यक्षसँग फोन सम्पर्क गरी एकीकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । एक मधेशी नेता भन्छन्, ‘त्यसपछि ५ वैशाखमा पुनः संवादको कडी जुट्यो । सद्भावना र तमलोपासहित दुई पक्षीय र बहुपक्षीय वार्ताहरू ५ वैशाखमा भयो ।’ सोही रात ८ बजे सद्भावना पार्टी कार्यालयमा नेताहरूको बैठक र एकीकरणको मोडल लिपिबद्ध गरे । जुन बैठकमा राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, राजकिशोर यादवसहितका नेताहरू सहभागी थिए ।

६ वैशाखको बिहानै शरत्सिंह भण्डारी र महेन्द्र यादवबीच त्यही खाकाको आधारमा छलफल भयो । १२ बजे छलफलमा महतो सहभागी भए । यता बिहानै राजकिशोर यादव र अनिल झाबीच पनि छलफल भएको थियो । ६ वैशाखमा यसरी नेताहरूबीच विभिन्न तहमा दिनभरि नै एक दर्जनजति बैठक निरन्तर चल्यो । जुन बैठकको परिणामस्वरूप साँझ साढे ६ बजे एकीकरणको अन्तिम टुंगो लाग्यो । राति साढे ८ बजे अध्यक्षहरूको मात्रै रात्रिभोज जाउलाखेलस्थित सेलेब्स रेस्टुराँमा राखियो, जहाँ अनिल झा अनुपस्थित रहे ।

पाँच अध्यक्षहरू राति पौनौ ११ बजेसम्म त्यहाँ रहे । अनिल झा नआए पनि पाँच वटै पार्टीको एकीकरण ७ वैशाखमा घोषणा गर्ने अन्तिम निष्कर्ष निकाले । यसरी १३ चैतमा सप्तरीको मलेठमा आयोजना गरिएको शोक सभाबाट शुरु भएको एकीकरणको पछिल्लो चर्चाले मूर्त रूप लियो । एकीकरणमा सक्रिय एक नेता केशव झा भन्छन्, ‘यसपालि हामीले शुरुमै मिडियावाजी नगर्ने आन्तरिक सहमति गरेका थियौँ । जुन धेरै हदसम्म सबैले पालना गरेकाले नै पछिल्लो समयमा चैतको पहिला सातादेखि शुरु भएको प्रयास अन्ततः सफल भए ।’

फुटको विगत

सद्‍भावना 

– ०४७ सालमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा सद्भावना पार्टीको गठन।
– असन्तुष्ट रामजनम तिवारीले नेपाल सद्भावना पार्टी (आर) गठन।
– हृदयेश त्रिपाठी, रामेश्वर रायलगायत विभाजित भएर नेपाल समाजवादी दल गठन।
– ०५९ सालमा बद्री मण्डलद्धारा छुट्टै सद्भावना गठन। भरतविमल यादवसहितका नेताहरू संस्थापन पक्षबाट आन्दोलनमा होमिए।
– दोस्रो जनआन्दोलनपछि राजेन्द्र महतो, हृदयेश त्रिपाठी, श्यामसुन्दर गुप्ता, सरिता गिरी, खुशीलाल मण्डलबीच द्धन्द्व चर्किँदा ६ पटक विभाजन।
– पहिलो संविधानसभापछि श्यामसुन्दर गुप्ता, सरिता गिरी, खुशीलाल मण्डलद्धारा छुट्टा छुट्टै सद्भावनाको घोषणा। अनिल झा र रामनरेश रायद्धारा महतोको नेतृत्वबाट अलग सद्भावनाको गठन।

फोरम फुटको शृंखला

०६३ मा भएको पहिलो मधेश आन्दोलनबाट राजनीतिक शत्तिाmको रूपमा उदाएको फोरम ०६४ भदौमै पहिलो पटक विभाजित। १३ भदौ ०६४ मा सरकार र फोरमबीच भएको २२ बँुदे सहमतिको विरोध गर्दै तत्कालीन फोरमका उपाध्यक्ष भाग्यनाथ गुप्ताको नेतृत्वमा रामकुमार शर्मा, जितेन्द्र सोनल, किशोर विश्वासलगायतबाट पार्टी परित्याग। सोनल र शर्माको पछि तमलोपामा प्रवेश। गुप्तालगायतबाट मधेशी जनाधिकार फोरम मधेश नामक छुट्टै पार्टी गठन।
– फोरम ०६५ मा फेरि फुट्यो । वीरगन्ज महाधिवेशनमा असन्तुष्ट अमर यादवलगायत नेताहरू पुनः विभाजित।
– ०६६ मा विजय गच्छदारको नेतृत्वमा पुनः फोरम फुट्यो। फेरि जयप्रकाश गुप्ता विभाजित

 तमलोपा

– पहिलो संविधानसभा निर्वाचनलगत्तौ अमरेशनारायण झासहितका केही नेता हिन्दुवादी पार्टी खोल्ने अभियानमा।
– महेन्द्र यादवको नेतृत्वमा तमलोपा फुट्यो। यादवको अध्यक्षतामा तमलोपा नेपाल गठन।

 
एकीकरणको पछिल्लो दौडधुप

२०७३

– १३ चैत ०७३ सप्तरीको मलेठमा भएको शोकसभामा नेताहरूद्धारा एकीकरण गर्ने घोषणा।
– १४ चैतमा राजविराजमा भएको फोरम गणतान्त्रिकको केन्द्रीय कार्यसमिति बैठकले एकीकरण गर्ने निर्णय।
– १५ चैतमा बर्दिबासमा शरत्सिंह भण्डारी, महेन्द्र यादव र राजकिशोर यादवबीच बैठक।
– १७ चैत फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव नयाँदिल्ली प्रस्थान।
– २०–२३ चैतमा तमलोपा, सद्भावना, तमसपा, रामसपा, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीका शीर्ष नेताबीच पटक–पटक अनौपचारिक      छलफल।
– २४ चैतमा भैसेपाटीस्थित रामसपाका सांसद निर्जला राउतको घरमा शरत्सिंह भण्डारी, महेन्द्र यादव र राजकिशोर यादवबीच वार्ता ।
– २५ चैतमा मधेशी नेताहरू भारतीय दूतावासमा नयाँ राजदूतसँग परिचयात्मक बैठकमा सहभागी, जहाँ एकीकरणको चर्चा भयो ।
– २६ चैतमा मधेशी दलका अध्यक्षहरू पुनः बिहानै भारतीय दूतावासमा बैठकमा सामेल ।
– २७ र २८ चैतमा राजेन्द्र महतोको सहभागितामा एकीकरणका लागि शीर्ष तहको बैठक ।
– ३० चैतमा मधेशी दलका अध्यक्षहरूसँग भारतीय राजदूतको डिनर बैठक।


२०७४

– २ वैशाखमा ०७४, राजेन्द्र महतोको घरमा एकीकरणको बैठक।
– ३ वैशाखमा बिहान र बेलुकी गरी दुई चरणमा रामसपाका सांसद निर्जला राउतको भैसेपाटीस्थित घरमा बैठक। चार सदस्यीय कार्यदल गठन। केशव   झा, रामनरेश राय, सीपी सिंह र मनीष सुमनलाई ४ गते एकीकरणको खाका बनाउन निर्देशन।
– ४ वैशाखमा साँझ पुनः राउतकै भैसेपाटीस्थित घरमा बैठक। राजेन्द्र महतोले त्यसै दिन थारु अगुवा राजकुमार लेखीसँग एकीकरण गरेपछि नेताहरू तनाबमा। नेपालस्थित ‘रअ’का प्रमुख विवेक जुहारीको सबै अध्यक्षहरूसँग फोनमा कुराकानी।
– ५ वैशाखमा सद्भावना र तमलोपाबीच छुट्टै वार्ता। सद्भावना पार्टी कार्यलयमा बैठक र एकीकरणको मोडल लिपिबद्घ। त्यसै दिन अनिल झासँग  छलफल।
– ६ वैशाखमा बिहानै शरत्सिंह भण्डारी र महेन्द्र यादवबीच छलफल । १२ बजे महतो सहभागी। राजकिशोर यादव र अनिल झाबीच पनि छलफल। दिनभरि नेताहरूबीच झण्डै एक दर्जन बैठक। साँझ साढे ६ बजे एकीकरणको अन्तिम टुंगो।
– ६ वैशाखमा राति साढे आठ बजे अध्यक्षको मात्रै डिनर मिटिङ जाउलाखेलस्थित सेलेब्स रेस्टुराँमा। अनिल झा अनुपस्थित । उनी नआए पनि पाँच पार्टीको एकीकरण ७ गते घोषणा गर्ने उद घोष।
– ७ वैशाखमा मधेशी दलहरूको राष्ट्रिय जनता पार्टीको घोषणा।


यादव–गच्छदार एकताउन्मुख

मधेशी मोर्चामा आबद्ध ६ दलहरू एकीकरणपछि मोर्चाको अर्को घटक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग संवाद शुरु गरेका छन् । आठ वर्षअघि यादव नेतृत्वकै फोरम नेपालबाट विभाजित भएर उनले यादवको भन्दा ठूलो पार्टी बनाएका थिए । उनी पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसबाट फोरम नेपाल प्रवेश गरेका थिए । उपेन्द्र यादव नेतृत्वकै फोरमबाट नर्वाचित उनी पछि सरकारमा जाने किचलोले यादवसँग कुरा नमिलेपछि विभाजित भएका थिए । एकअर्काबीच रुष्ट रहने यादव, गच्छदार पुनः एकपटक नजिक आएका छन् । मोर्चाका ६ घटकको एकताले उनीहरूलाई पनि एकता उन्मुख गराएको विश्लेषण हुन थालेको छ ।

फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीका अनुसार, मंगलबार यादव र गच्छदारबीच कुराकानी भएको थियो । चौधरी भन्छन, ‘पार्टी एकीकरण गर्ने गरी दुवैजना बीच कुराकानी शुरु भएको छ । आउँदो साताभित्र पुनः आन्तरिक छलफल र विमर्शपछि दुवैजनाको बस्ने कुरा छ ।’ उनका अनुसार, अहिले नै ठ्याक्कै यो दाबी नगरेपनि हामीबीच संवाद नै शुरु हुनु ठूलो कुरो हो । निर्वाचनअघि दुवै पक्षबीच एकीकरण वा चुनावी तालमेल अब नजिक हँुदै गएको छ । हुन त, उपेन्द्र यादव र बाबुराम भट्टराईबीच पनि पछिल्लो समयमा एकीकरणको चर्चा नभएको होइन ।

७ वैशाखमा मोर्चासम्बद्ध ६ दलहरूबीच एकीकरण भएको भोलिपल्टै यादव र भट्टराईले एकीकरण गर्ने भन्दै कार्यदल गठन भएको विज्ञप्ति निकालेका थिए । तर, १२ वैशाखमा भट्टराई र यादवले नै संयुक्त विज्ञप्ति निर्वाचन आयोगलाई पठाउँदै नयाँ शक्ति पनि स्थानीय निर्वाचनमा फोरम नेपालकै चुनाव चिह्नमा लड्ने जानकारी गराएका छन् । यसले कतिपय जानकारहरू स्थानीय तहको निर्वाचनअगावै यादव र भट्टराईबीचको एकीकरण सम्भावना नरहेको बताउँछन् ।

 

प्रतिकृया दिनुहोस